नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ ले कर्मचारीदेखि प्राविधिकसम्म सबैले असल काम गरे मात्रै देश बन्ने बताएका छन्। निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्स्टिच्युटको कार्यक्रममा शनिबार यहाँ उनले कर्मचारी र प्राविधिकको गलत नियतले देश बिग्रँदै गएको बताए।
अध्यक्ष बिजुक्छेँले भने, 'हाल देशमा प्राविधिकतन्त्रले अपेक्षित योगदान दिन सकेको छैन। कर्मचारीतन्त्र र प्राविधिकतन्त्रले ध्यान नदिँदा देश विकास हुन सकिरहेको छैन। यदि कर्मचारी र प्राविधिक मात्रै ठिक हुने हो भने धेरै समस्या समाधान हुनेछ, विकासले गतिलिने छ।'
उनले नयाँ पुस्तालाई केवल प्राविधिक ज्ञानमा सीमित नराखी सदाचार, समाज सेवा र राजनीतिक चेतनासहितको शिक्षा दिनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा देशभरका विभिन्न ५४ वटा विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूको सहभागिता रहेको थियो। इन्स्टिच्युटका अध्यक्ष बालकृष्ण बनमालाले कला क्षेत्रमा गरेको योगदानका लागि भक्तपुरका चर्चित कलाकार रामशरण प्रजापतिलाई सम्मान गरिएको बताए।
प्रकाशित: १८ श्रावण २०८२ ०८:३७ आइतबार





