राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धान प्रतिवेदनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि पनि प्रश्न उठाएको छ। उनको गतिविधि र अभिव्यक्तिबारे विस्तृत अध्ययन आवश्यक रहेको आयोगले उल्लेख गरेको छ।
आयोगले विशेषगरी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएका अभिव्यक्तिको प्रभावबारे थप छानबिन गर्न सुझाव दिएको हो।
प्रतिवेदनअनुसार प्रसाईंले आन्दोलनका क्रममा दिएका भनाइ तथा गतिविधिले सार्वजनिक माहोलमा कस्तो प्रभाव पारेको थियो भन्ने विषय अनुसन्धानको केन्द्रमा राख्नुपर्ने देखिएको छ। आयोगले ती अभिव्यक्तिहरूले आन्दोलनकारीको व्यवहार वा सार्वजनिक शान्ति व्यवस्थामा प्रभाव पारे–नपारेको विषयमा तथ्यगत मूल्याङ्कन गर्नुपर्ने जनाएको छ।
त्यसैगरी भदौ २३ र २४ गतेका घटनामा भएको मानवीय तथा भौतिक क्षतिसँग प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको–नरहेको विषय पनि अनुसन्धानको दायरामा ल्याउन आयोगले सुझाव दिएको छ।
आयोगले निष्पक्ष अनुसन्धान, सम्बन्धित पक्षलाई जानकारी दिने व्यवस्था तथा कानुनी प्रक्रियाअनुसार स्वच्छ सुनुवाइको अधिकार सुनिश्चित गर्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गरेको छ।
प्रकाशित: १३ जेष्ठ २०८३ १७:१८ बुधबार





