२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

खेलकुद मन्त्रीसँग मुख्यमन्त्रीले भने: दशौँ राष्ट्रिय खेलकुदको मिति नसर्ने गरी तोक्नुस्

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको कारणले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित नहुने भएकोले अब मिति तोक्दा मिति नसर्ने गरी तोक्न संघीय सरकारलाई आग्रह गरेका छन्। 

दशौँ राष्ट्रिय खेलकुदको सम्बन्धमा परामर्श गर्न आज सुर्खेत पुगेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले पटक पटक मिति तोक्ने तर खेलकुद नहुने हुँदा त्यसले नकारात्मक सन्देश गएकोले अब त्यस्तो गल्ती नदोहोर्‍याउन संघीय सरकारलाई आग्रह गरे। 

उनले भने,'कर्णालीमा खेलकुद गर्ने विषयमा हाम्रो तर्फबाट हामी प्रतिबद्ध  छौ र त्यही अनुसार तयारी पनि गरिरहेका छौ तर आयोजक तपाइहरू हो, अब पनि मिति तोक्दै खेल नहुने हो भने अहिले नै बिचार गरेर मिति तोक्नु होला।' मुख्यमन्त्री कँडेलले मिति तोक्दा संघीय र प्रदेशको जिम्मेवारीसहित स्पष्ट तालिका बनाउन आग्रह समेत गरे। मुख्यमन्त्री कँडेलले प्रतियोगिता आयोजना गर्ने नाममा यस अघि भएका  कमजोरी दोहाेरिन नदिने तर्फ अहिलेदेखि नै सचेत हुनुपर्ने बताए। 

उनले प्रतियोगिता गर्न यस अघि गठन गरिएका उपसमितिप्रति असन्तुष्टि जनाए। उनले भने,'यहाँ  नभएका जनशक्ति बाहिर ल्याउनुहोला तर प्रतियोगिता कै लागि जम्बो उपसमिति  बन्ने र बनाउने तर्फ सचेत रहनुहोला।' मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद आयोजनाको सन्दर्भमा चासो सहित केहिदिन सरोकारवालालाई समेत निर्देशन दिएकोमा त्यसतर्फ ध्यान दिन खेलकुद मन्त्री सुझाव दिए। 

उनले भने,'केही दिन तपाईँहरूलाई सम्माननीय प्रधानमन्त्रीले समेत प्रतियोगिताको मिति नसर्ने गरी काम गर्नुस् भनेर निर्देशन दिनु भएको रहेछ, हाम्रो स्स्प्रिड पनि त्यही हो ।' एक अर्को प्रसङ्गमा मुख्यमन्त्री कँडेलले प्रतियोगिता आयोजना गर्ने तर्फ प्रदेश सरकारको पुरै ध्यान केन्द्रित भएकोले प्रदेश खेलकुद परिषद्का रिक्त पदहरूमा नियुक्त गर्न छलफल सुरु भएको तथा रंगशाला लगायत बाँकी पूर्वाधार निर्माणका काम तत्कालै अघि बढाइने बताए। 

राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै पूर्वाधार आयोजक संघीय सरकारले नै निर्माण गर्ने भएपनि दशौँ खेलकुदका अधिकांश खेलका लागि कर्णाली प्रदेश सरकारले पूर्वाधार निर्माण गरेको बताउँदै मुख्यमन्त्री कँडेल थप पूर्वाधार बनाउने कुरामा संघीय सरकारले सहजीकरण गर्नु पर्ने बताए। युवा तथा खेलकुद मन्त्री चौधरीले प्रतियोगिताका लागि अव मिति नसर्ने गरी तयारी भइरहेकोले त्यसमा ढुक्क हुन आग्रह गरे। उनले सुर्खेत आसपास हुने गरी प्रतियोगिताका लागि २४ वटा खेलको लागि तयारी भएको बताउँदै जानकारी गराए। छलफलमा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजीवबिक्रम शाह, सामाजिक मन्त्री धनश्याम भण्डारी लगायतको उपस्थिति थियो।

प्रकाशित: २२ श्रावण २०८२ १७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App