राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले यही संविधान र प्रणालीबाट जेनजी पुस्ताले खोजेको परिवर्तन सम्भव नहुने बताएका छन्।
बुधबार राजनीतिक दल र जेनजी प्रतिनिधिसँगको त्रीपक्षीय बैठकमा पार्टीका तर्फबाट सात बुँदै धारणा राख्दै उनले यस्तो बताएका हुन्। उनले यस कारण राजा, राजनीतिक दल र जेनजीका बीच नवीन समझदारी गरेर मात्र निर्वाचनमा जानुपर्ने धारणा राप्रपाले राखेको बताए।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गरे बमोजिमको राजनीतिक धारणा सरकार, राजनीतिक दल र जेनजीहरू सम्मिलित बालुवाटार बैठकमा औपचारिक रूपमा प्रवेश गराइएको उनले आफ्नो मन्तव्यमा जिकिर गरे।
यस्तै निर्वाचन जस्तो प्रजातान्त्रिक पद्धतिबाट राप्रपा अलग नहुने तर यथास्थितिमा हुने निर्वाचनले समाधान दिँदैन भन्ने राप्रपाको व्याख्यात्मक धारणा रहेको उनले उल्लेख गथरे।
बालुवाटारमा बुधबार आयोजित त्रिपक्षीय संवादमा राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले व्यक्त गरेको मन्तव्य
सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आज प्रधानमन्त्री निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूको संयुक्त बैठक राख्नुभयो। बैठकमा राप्रपाको तर्फबाट महामन्त्री राजेन्द्र गुरुङ र म सहभागी भयौं।
अघिल्लो बालुवाटार बैठक सरकार र राजनीतिक दलको बीच भएको थियो जहाँ राप्रपाको धारणा राखिएकै थियो। आज जेनजी प्रतिनिधिहरू समेत सहभागी भएको बैठकमा राप्रपाले,
१. यहि संविधान र प्रणालीबाट जेनजी पुस्ताले खोजेको परिवर्तन सम्भव नहुने भएकाले राजा, राजनीतिक दल र जेनजीका बीच नवीन समझदारी गरेर मात्र निर्वाचनमा जानुपर्ने धारणा राखेको छ। राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गरे बमोजिमको राजनीतिक धारणा सरकार, राजनीतिक दल र जेनजीहरू सम्मिलित बालुवाटार बैठकमा औपचारिक रुपमा प्रवेश गराइएको छ।
२. विद्रोह अधुरो रहँदा पूर्ण विद्रोहको सम्भावना जीवित रहने भएकाले जेनजी विद्रोहमा उठेका राजनीतिक मुद्धाहरू, संविधान संशोधन र सुशासनसंग सम्बन्धित विषयहरूलाई सम्बोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने धारणा राखिएको छ।
३. विगतको त्रुटिपूर्ण मार्गचित्रका कारण देशमा आजको अवस्था सिर्जना भएको र यो अवस्थामा सुधार नगरी पुरानो मार्गचित्रकै निरन्तरताले फेरी पनि गलत ठाऊँमै पुगिने अवश्यम्भावी छ। इतिहासले दिएको यो अवसरलाई कोर्स करेक्सनको अवसरको रुपमा सदुपयोग गर्न सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिको गम्भीर ध्यानाकर्षण गराइएको छ।
४. प्रधानमन्त्री सुशीला कार्कीलाई इतिहासले दिएको कोर्स करेक्सनको यो अवसरलाई आवश्यक पहलकदमी लिन र इतिहासले सदा सम्मानपूर्वक सम्झने पात्रको रुपमा दर्ज हुन आग्रह गरिएको छ।
५. निर्वाचन जस्तो प्रजातान्त्रिक पद्धतिबाट राप्रपा अलग हुँदैन तर यथास्थितिमा हुने निर्वाचनले समाधान दिदैन भन्ने राप्रपाको व्याख्यात्मक धारणा राखिएको छ।
६. राप्रपाले उठाउदै आएको राजनीतिक, सामाजिक र सुशासनसंग सम्बन्धित विषयलाई बुँदागत रुपमा राखिएको छ।
७. जेनजीका कतिपय फरक फरक धारणाहरूलाई संश्लेषण गरी जेनजी विद्रोहको स्पिरिटसंग एकरुपता कायम गर्न आग्रह गरिएको छ।
प्रकाशित: १३ कार्तिक २०८२ ०८:२८ बिहीबार





