४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

‘दलहरूबीच असहमति भए पनि निर्वाचनको परिणाम स्वीकार्नु लोकतन्त्रको सुन्दर पक्ष’

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीतिक दलहरूबीच जस्तोसुकै असहमति भए पनि निर्वाचनको परिणाम स्वीकार्ने संस्कार नेपाली लोकतन्त्रको सुन्दर पक्ष भएको बताएका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै पोखरेलले यस्तो बताएका हुन्।

पोखरेलले भने, ‘निर्वाचनको प्रक्रिया वा दलहरूका अभियानका क्रममा असहमतिहरू हुन सक्छन्। सडकमा ढुंगा हानहान हुन्छ, झगडा हुन्छ। तर निर्वाचनको परिणाम आइसकेपछि त्यसलाई अस्वीकार गरेको इतिहास नेपालमा छैन। यो लोकतान्त्रिक संस्कारको एउटा महत्वपूर्ण पाटो हो।’

पोखरेलले नेपालको सन्दर्भमा निर्वाचन केवल सत्ता हस्तान्तरणको माध्यम मात्र नभई हिंसा व्यवस्थापनको महत्वपूर्ण औजार समेत बनेको उल्लेख गरे।

‘नेपालले निर्वाचनलाई हिंसा र द्वन्द्व व्यवस्थापन गर्ने ‘टुल’ को रूपमा प्रयोग गरेको छ,’ उनले भने, ‘द्वन्द्वमा रहेका पक्षहरूलाई मूलधारको राजनीतिमा ल्याउन र शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न निर्वाचनले खेलेको भूमिका विश्वमै उदाहरणीय छ।’

पोखरेलले निर्वाचनको समयमा सुरक्षा चुनौतीहरू अझै कायमै रहेको बताए।

हतियारहरूको पूर्ण व्यवस्थापन नभइसकेको र साना हतियारहरूको बिगबिगी हुन सक्ने आशंका व्यक्त गर्दै उनले सुरक्षा निकायले विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिए।

‘निर्वाचनको समयमा सानातिना समूहहरूले विध्वंस मच्चाउन सक्ने जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन। यसका लागि सुरक्षा रणनीति चुस्त बनाउनुपर्छ,’ उनले भने।

प्रकाशित: ७ माघ २०८२ १९:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App