सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमार्फत परिवर्तनको आधार तयार गर्नुपर्ने बताएका छन्।
नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को २० औं साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले मुलुकले परिवर्तन खोजेको अवस्थामा परिवर्तनका लागि मतदान गर्न तयार हुनुपर्नेमा जोड दिए।
मन्त्री खरेलले भने, ‘मुलुकले परिवर्तन खोजेको छ, निर्वाचनबाट जुनसुकै पार्टी भए पनि राम्रो नेतृत्व ल्याउनुपर्छ, अब पुरानै प्रवृत्तिलाई नदोरिने अवस्था निर्माण गर्न आवश्यक छ।’
उनले मुलुकको राजनीति आफ्नो परिवार र गुटका साथै सत्तामा पुग्न गठबन्धनमा केन्द्रित भएका कारण देश बन्न नसकेको बताए।
मन्त्री खरेलले दल र नेताको दबाब तथा प्रभावमा परेर पदको लोभ गर्नुभन्दा स्वतन्त्र रूपमा राम्रो कर्म गर्नुपर्नेमा जोड दिए।
उनले इक्यानसँग आफू पत्रकार हुँदादेखि सहकार्य गरेको उल्लेख गर्दै आफू जुनसुकै पद र पेसामा भए पनि सहयोग रहने प्रतिबद्धतासमेत जनाए।
मन्त्री खरेलले इक्यानले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र आबद्ध व्यवसायीले देशको अर्थतन्त्रमा सहयोग गरिरहेको भन्दै प्रशंसा गरे।
कार्यक्रममा इक्यान अध्यक्ष शेषराज भट्टराईले गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष जनशक्ति उत्पादनमा संस्थाले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए।
प्रकाशित: २८ पुस २०८२ २०:४१ सोमबार




-600x400.jpg)
