४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

गगन थापा मैदानमा नहुँदा काठमाडौं- ४ को चुनावमा ‘थ्रिलर’ कम भयो: पुकार बम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं काठमाडौं क्षेत्र नम्बर-४ का उम्मेदवार पुकार बमले नेपाली कांग्रेसका सभापति गगन थापा चुनावी प्रतिस्पर्धामा नहुँदा ‘थ्रिलर’ कम भएको टिप्पणी गरेका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै उनले ‘हेभिवेट’ प्रतिस्पर्धी मैदानमा नहुँदा चुनावी रौनक र प्रतिस्पर्धाको मज्जा सोचेजस्तो नभएको बताएका हुन्।

लामो समयदेखि कांग्रेसका गगन थापाले जित्दै आएको यस क्षेत्रलाई राजनीतिक ‘गढ’ र विरासतका रूपमा चित्रण गरिँदै आएको थियो। बमले आफू त्यही विरासत र प्रवृत्तिलाई चुनौती दिन आएको तर मुख्य प्रतिस्पर्धी नै मैदान छोडेर अन्यत्र गएपछि खल्लो महसुस भएको बताए।

उनले भने, ‘म जुन कारणले यो ठाउँमा हिम्मत गरेर आएको थिएँ, उहाँ (गगन थापा) भइदिएको भए त्यो विरासतको राजनीति तोड्ने न्यारेटिभ स्थापित गर्न अझ मजा आउँथ्यो। साच्चिकै युद्धमैदानमा जाँदै गर्दा अपोनेन्ट सामान्य हुँदा अलिकति नमज्जा त हुँदो रहेछ। उहाँ नहुँदा ‘थ्रिलर’ कम भयो।’

थापाले क्षेत्र छाड्दा चुनाव जित्न सजिलो भयो कि भन्ने प्रश्नमा बमले यसलाई जित-हारको सहजताभन्दा पनि राजनीतिक सन्देशका रूपमा व्याख्या गरे।

‘उहाँले एउटा ठाउँ सजिलो पारिदिनुभयो होला, तर जुन खालको एउटा न्यारेटिभ भत्काउन म आएको थिएँ, त्यो अवसर गुम्यो,’ उनले थपे।

उनले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै प्रतिस्पर्धा गर्ने आँट गरेको उदाहरण दिँदै आफूले पनि काठमाडौं–४ मा बलियो प्रतिस्पर्धीसँगको लडाइँ रुचाएको तर त्यो सम्भव नभएको बताए।

यद्यपि, ३०-४० वर्षदेखि जरा गाडेर बसेको राजनीतिक सिन्डिकेट तोड्न आफू सक्षम रहेको उनको दाबी छ।

आगामी निर्वाचनमा काठमाडौं-४ बाट उम्मेदवारी दिएका बमले आफूले १० हजार बढी मतान्तरले चुनाव जित्ने दाबी समेत गरेका छन्।

प्रकाशित: १४ माघ २०८२ १९:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App