जेन–जी आन्दोलनलाई दुरुपयोग गर्दै आततायीहरूले आगो लगाइएको राष्ट्रपति भवनमा शुक्रबार अपराह्न आयोजित संविधान दिवस आफैंमा शोकमग्न थियो । सिमसिमा पानी परिरहेको त्यो समयमा चारैतिर अँगार बनेका भवनको बिचमा फुलिरहेका फूलका आँखाबाट आँशु चुहिएका थिए– तप्प तप्प ।
ती फूलजस्तै हुन् जेन–जी अभियन्ताहरू । तिनले सोचेका थिए– नेपाल सुन्दर बनाउछौं । मुलुकलाई भ्रष्टाचार र कुशासनले आक्रान्त पारेका बेला ती निस्केका थिए सडकमा । तिनका अदम्य साहसले परिवर्तन अवश्यम्भावी बनाएको हो । तर, त्यही मौका छोपेर राष्ट्रका धरोहरमा आगो लगाउन अघि बढे आततायी हातहरू ।
मुलुक परिवर्तनका निम्ति अघि लागेका जेन–जीको काँधमा राखेर कसैले बन्दुक पड्कायो । समयसँगै ती सबै खुल्ने छन् । तिनको मुखुण्डो उत्रिने छ । तर, राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको संविधान दिवस एउटा खरानीमाथि गरिएको एउटा पूर्णाहुतीजस्तो थियो । तैपनि त्यहाँ गरिँदै थियो कामना– शान्ति, स्थिरता र प्रगतिको ।
मुलुकको युवा शक्तिले गत भदौ २३ मा आयोजना गरेको आन्दोलनको मकसद यस्तो अवश्यै थिएन । तिनीहरू पनि यी दृश्य देखेर अवाक भएका छन् । संविधान दिवस समारोहमा सबै अनुहार उही थिए– प्रधानमन्त्रीको कुर्सीमा बाहेक । केपी शर्मा ओलीको ठाउँमा सुशीला कार्की विराजमान छन् । उनका छेउमा छन्– राष्ट्रपति पौडेल । सँगै उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत ।

मुलुकमा आगो लागेको १० औं दिनमा यति ठुलो समारोह आयोजना भएको हो । यसले पक्कै पनि हामी नेपालीको उत्थानशीलता प्रदर्शन गरेको छ । समारोहमा आएका विदेशी मुलुकका राजदूतहरू पनि विस्फारित नयनले ती जलेका संरचना हेरिरहेका थिए । फर्कने बेलामा कैयनले तस्बिर खिचेर लगेको पनि देखियो । एक राजदूतले नागरिकसँग भने– धन्य, हामीलाई कसैले छोएन । आफैंमा यस्तो विध्वंश भएको छ ।
राष्ट्रपति पौडेलले यसपटक भीरमा पुगिसकेको मुलुकलाई बाटोमा ल्याउन कोसिस गरेका हुन् । उनकै सुझबुझ र जेन–जीका आन्दोलनकारीको लोकतन्त्रप्रतिको विश्वासले मात्र मुलुक फेरि यति चाँडै बाटो लागेको देखिएको छ । त्यति ठुलो घटनापछि पनि मुलुक फेरि उठ्न खोजेको संदेश समारोहले दिएको छ । संविधान थिल्थिलो भएको छ । त्यसकैको बलमा निर्वाचन गराएर निर्वाचित सरकारको हातमा सत्ता सुम्पने चाहना राष्ट्रपति पौडेलले समारोहमा व्यक्त गरेका छन् ।
औपचारिक पोशाकसहित समारोहमा आएका राज्यका विभिन्न निकायमा रहेका पदाधिकारी र अन्य पाहुना सधैंझै खुसी हुने अवस्था थिएन । भारी मनले सबै बसिरहेका थिए । राष्ट्रपति पौडेलको प्रवेशसँगै सबैजना राष्ट्रिय धुनका निम्ति उभिए । त्यसपछि मिठो धुन बज्यो– सयौं थुँगा फूलका हामी एउटै माला नेपाली...।
हो, हामी फेरि एउटै माला बन्छौं । त्यो धुनसँगै धेरैले छातीमा हात राखेर अवश्यै सोचेको हुनुपर्छ । यसपटकको समारोहमा केही नयाँ अनुहार पनि थिए । ती हुन्– जेन–जीका प्रतिनिधि । समारोहमा संवोधन गर्ने बेलामा तिनको नाम मुख्य सचिवभन्दा पहिल्यै लिइएको थियो । पुरानो राज्यसत्ता र चालढालका बिचमा उदाउँदै गरेको नयाँ शक्ति त्यहाँ अनुभूत भएको थियो । राष्ट्रपतिको संवोधनमा पनि तिनीहरूलाई उल्लेख गरिएको थियो ।
‘जेन–जी पुस्ताले अहिले मागेको भ्रष्टाचार र बेथितिको अन्त्य होस् भन्ने कुरालाई सबैले मनन् गरौँ र सुध्रिएर अघि बढ्ने अठोट गरौं,’ राष्ट्रपति पौडेलले भने, ‘मुलुकमा स्थायी शान्ति र समुन्नतिका लागि सबैले देश र जनताप्रति इमान्दार भएर नैतिकता, निष्ठा र सदाचार अगालौँ ।’
फर्कने बेलामा फूलहरू उसैगरी रोइरहेका थिए । रुँदारुदै पनि ती फुलिरहेका थिए । शायद ती जेन–जी प्रतिनिधिजस्तै हुन् । तिनले परिवर्तन चाहेका हुन् । तिनका सपना पूरा भए फेरि राज्यका सम्पदामथि आगो लाग्ने छैन । ती युगयुगान्तर फुलिरहने छन् ।
प्रकाशित: ३ आश्विन २०८२ २०:२१ शुक्रबार





