११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

पार्टी छाड्नेलाई दुई हात जोडेर धन्यवाद, आउनेको ओइरो छ: वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले पार्टी परित्याग गरेका नेताहरूप्रति कुनै कटुता नराखी उनीहरूले पुर्‍याएको योगदानको कदर गर्दै धन्यवाद दिइएको बताएका छन्।

मंगलबार नख्खु कारागारमा सभापति रवि लामिछानेलाई भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले केही नेता बाहिरिए पनि पार्टीमा प्रवेश गर्न चाहनेहरूको ‘ओइरो’ लागेको दाबी गरे।

हालै सुमना श्रेष्ठ र सन्तोष परियार जस्ता प्रभावशाली नेताहरूले पार्टी छाडेको विषयमा सोधिएको प्रश्नमा उपसभापति वाग्लेले यसलाई पार्टीले स्वाभाविक रूपमा लिएको संकेत गरे। उनले यसलाई काँटछाँट भन्दा पनि एक सुसंस्कृत राजनीतिक अभ्यासको रूपमा व्याख्या गरे।

‘जानुभएका एक-दुई जना पात्रहरूको बारेमा हाम्रो पार्टीको स्पष्ट लाइन के छ भने, उहाँहरूले पार्टीमा रहँदा पुर्‍याउनु भएको योगदानको लागि धन्यवाद, दुई हात जोडेर धन्यवाद,’ वाग्लेले भने, ‘उहाँहरूको आगामी राजनीतिक यात्राको लागि शुभकामना।’

उनले पार्टीबाट बाहिरिने क्रमलाई गौण विषयको रूपमा प्रस्तुत गर्दै पार्टीभित्र प्रवेश गर्न चाहनेहरूको लहर चलेको बताए। सभापति लामिछानेसँगको भेटमा समेत पार्टीमा आउन इच्छुक व्यक्ति, समूह र अन्य दलहरूबारे लामो छलफल भएको उनले सुनाए।

‘आज लगभग लामो समय को-को पार्टीमा आउन इच्छुक हुनुहुन्छ, व्यक्ति, समूह, दलको बारेमा लामै छलफल भयो,’ वाग्लेले थपे, ‘आउनेको ओइरोको बारेमा बिस्तारै थाहा हुँदै जान्छ।’

वाग्लेले रास्वपा ठूलो आँधीबेहरीपछि थप खारिएर निस्किएको र अहिले सापेक्षिक रूपमा सबैभन्दा सङ्लो र अग्लो राजनीतिक शक्तिको रूपमा स्थापित भएको दाबी गरे।

प्रकाशित: २ मंसिर २०८२ १५:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App