नेकपा माओवादी केन्द्रसहित दस पार्टी मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ को संयोजकमा पुष्पकमल दाहाल र सहसंयोजकमा माधव नेपाल चयन भएका छन्। भृकुटीमण्डपमा बुधबार आयोजित एकता सम्मेलनबाट दाहाल संयोजक र नेपाल सहसंयोजक चयन भएका हुन्। सम्मेलनले घोषणापत्र र विधान पनि पारित गरेको छ। निर्वाचन चिह्न ‘पाँच कुने तारा’ राखिएको छ।
एकता सम्मेलनमा सहभागी दसवटै पार्टीका सदस्य नेपाली कम्युनिस्ट पार्टीका सदस्यमा रुपान्तरण भएका छन्। एकता सम्मेलनमा सामेल सबै पार्टीका नेताहरूसँग आवश्यक परामर्श गरेर केन्द्रीय संरचनालाई पूर्णता दिइने भएको छ। सबै घटकका केन्द्रीय समिति समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय सम्मेलनबाट भएको छ। केन्द्रीय समितिलाई पूर्णता दिने र संरचनागत समायोजनसम्बन्धी अख्तियारी संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव पारित गरिएको छ।
विगतमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित अब नेपाली कम्युनिस्ट पार्टीका जनप्रतिनिधि हुनेछन्। एकतामा सामेल सबै पार्टीहरूको चल, अचल, बैंक सम्पत्तिको स्वामित्व र दायित्व अब नेपाली कम्युनिस्ट पार्टीको हुनेछ। नेपाली कम्युनिस्ट पार्टीको अन्तरिम विधान र घोषणापत्र प्राप्त सुझाव समेटेर पारित गरिएको छ।
जेनजी आन्दोलनसँगै पार्टीहरूमा पुनर्गठन र रुपान्तरण आवाज उठे पनि पुराना नेताकै नेतृत्वमा १० वटा कम्युनिस्ट पार्टी÷घटकहरु एकीकृत हुँदै ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा गरिएको हो।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपाको चिरन पुन समूह, नेकपा (समाजवादी माओवादी), नेकपा साम्यवादी, देशभक्त मोर्चालगायत एकीकृत भई नयाँ ‘नेपाली कम्युनिस्ट पार्टी’मा रुपान्तरण भए पनि नतृत्वमा भने पुरानै अनुहार छन्।
एकता सम्मेलनलाई सम्बोधन गर्दै नेताहरुले नेपालको कम्युनिस्ट आन्दोलन, पार्टीहरुको अवस्था, जेनजी आन्दोलन, नेपाली जनताको आकांक्षालाई सम्बोधन गर्न नयाँ पार्टीले पहल गर्ने बताए। उनीहरुले नयाँ पार्टीलाई क्रान्तिकारी धारमा विकास गर्दै मुलुकमा समाजवाद हुँदै साम्यवादको दिशातर्फ लैजाने दाबीसमेत गरेका छन्। पार्टी एकता घोषणा कार्यक्रममा २३ बुँदे प्रतिबद्धता गरिएको छ। जसमा जेनजी आन्दोलनका माग र आकांक्षा पूरा गर्न पार्टी प्रतिबद्ध रहनेलगायत विषय समेटिएको छ।
प्रकाशित: २० कार्तिक २०८२ ०६:३२ बिहीबार





