नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले देशको वर्तमान व्यवस्था र संगठनको अस्तित्व रक्षाका लागि आफ्नो संगठन अब सडकमा उत्रिन तयार रहेको बताएका छन्।
तरुण दलको ७३ औं स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुप लागेर बस्दा देशमा शान्ति स्थापना नहुने भन्दै अब सडकमा भिड्नुको विकल्प नभएको चेतावनी दिए।
‘चुप लागेर बसेर मात्रै यो मुलुकमा शान्ति हुँदो रहेनछ,’ अध्यक्ष गुरुङले भने, ‘यदि यो मुलुकको व्यवस्था जोगाउने हो भने, यदि तपाईं हाम्रो अस्तित्व जोगाउने हो भने, अब यिनीहरुको विरुद्धमा सडकमा भिड्ने नै हो। योभन्दा अर्को विकल्प छैन।’
पछिल्लो समय विभिन्न व्यक्ति तथा समूहले घोषणा गरेका आन्दोलनप्रति लक्षित गर्दै उनले त्यस्ता प्रवृत्तिविरुद्ध तरुण दलले प्रतिवाद गर्ने संकेत गरे।
‘आज कुनै एउटा दुर्गा प्रसाईंले छठपछि आन्दोलनको घोषणा गरेको छ, कुनै एउटा अभियन्ता ग्रुपले १६ गतेबाट आन्दोलनको घोषणा गरेको छ,’ गुरुङले प्रश्न गरे, ‘के पुराना दलको सरकार गइसकेपछि यो घटनाबाट नयाँ परिवर्तन भएको छ ?’
उनले सामाजिक सञ्जालमा नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई ‘झोले’ को संज्ञा दिएर ट्रोल बनाउने काम भइरहेको भन्दै आपत्ति जनाए।
अध्यक्ष गुरुङले तरुण दलका सम्पूर्ण कार्यकर्तालाई जुनसुकै बेला हुनसक्ने आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशन समेत दिए।
प्रकाशित: १० कार्तिक २०८२ १९:३६ सोमबार





