राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले मन्त्रीहरूलाई आइफोन वितरण गरेको भन्ने चर्चामा कुनै सत्यता नरहेको दाबी गरेका छन्।
आइतबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्ता भ्रामक समाचारको पछि नलाग्न आग्रह गरेका हुन्।
सभापति लामिछानेले मन्त्रीहरूले त्यस्तो महँगो उपहार लिएको भन्ने कुरा गलत भएको र आफूले बुझेअनुसार मन्त्रीहरूले आइफोन नलिएको बताए। ‘गलत समाचारको जवाफ दिन नलगाउनुस्, मन्त्रीहरूलाई आइफोन दिइएको छैन होला,’ उनले भने।
यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले समेत मन्त्रीहरूलाई आइफोन बाँड्ने कुनै निर्णय नभएको भन्दै सामाजिक सञ्जालमा भइरहेको चर्चाको खण्डन गरिसकेका छन्।
उनले यसलाई भ्रामक कथा भन्दै सरकारले नागरिकको करबाट उठेको पैसा दुरुपयोग नगर्ने बताएका थिए।
मन्त्री तिमिल्सिनाले जनताको प्रत्येक रुपैयाँको मूल्य आफूहरूले अनुभूत गरेको भन्दै सरकार नागरिकको सुन्दर भविष्य निर्माणमा केन्द्रित रहेको बताएका थिए।
प्रकाशित: ६ वैशाख २०८३ १९:१८ आइतबार





