४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीको सम्मान: गगन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अँध्यारोबाट उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीप्रतिको उच्च सम्मान भएको बताएका छन्।

नेपाली कांग्रेस भरतपुर महानगरपालिका–११ ले आज यहाँ आयोजना गरेको वडा कार्यालय एवं बिपी स्मृति भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बिपीले अँध्यारोबाट उज्यालोको खोजीमा सङ्घर्ष गरेकाले अहिले पनि कांग्रेसमा सङ्घर्ष आवश्यक रहेको बताए।

उनले भने, “बिपीले आफ्नो मात्रै सोच्नुभएन जनताका लागि सोचेर सङ्घर्षमा हिँड्नुभयो। त्यसरी नै हामी हिँड्न जरुरी छ।”

बिपीले उठाएको कष्ट कुनै युगका लागि भएको भन्दै उनले त्यो कष्ट अहिले उठाउन आवश्यक रहेको सुनाए। उनले थपे, “कांग्रेसीको मनभित्र भएको भय बिपीको सोचअनुसार हामी हिँड्न सकेनौँ भनेर हो। यो पूरा गर्ने जिम्मेवारी तपाई हामीकै हो।”

अहिले भएको परिवर्तन बिपीको विचारअनुसार नभएको भन्ने हुटहुटी कांग्रेसमा रहेको भन्दै उनले यसलाई जगाई राख्न सक्नुनै बिपीको सच्चा अनुयायी भएको बताए।

उनले कांग्रेस आफ्नो जिम्मेवारीबाट कहिल्यौँपछि नहट्ने बताए। उनले भने, “राजतन्त्र, गणतन्त्रदेखि लोकतन्त्रसम्म कांग्रेसले बिपीको विचारअनुसार आफ्नो जिम्मेवारी निभाएको छ।”

जिम्मेवारीका हिसाबले कांग्रेस सही ठाउँमा रहेको बताउँदै उनले बिपीको विचारसहित गरेका कामहरूको प्रचार गर्न नेता कार्यकर्तालाई आग्रह गरे।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले कांग्रेसभित्रको एकता अहिलेको आवश्यकता रहेको बताए। कांग्रेस एक हुँदा विपक्षी कमजोर बन्ने भन्दै उनले देश बनाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको छ भन्ने आभास तल्लो तहमा हुनुपर्ने बताए।

प्रकाशित: ६ श्रावण २०८२ १९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App