१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सूर्य थापाको प्रश्न- ‘हजारौं युवा सडकमा उतार्ने पैसा कहाँबाट आयो ?’

नेकपा एमालेका नेता सूर्य थापाले जेन-जी आन्दोलनको आर्थिक स्रोत शंकास्पद रहेको बताएका छन्।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आन्दोलनलाई स्वत:स्फूर्त नागरिक अभियानको रूपमा स्वीकार्न नसकिने बताएका हुन्।

पत्रकार सम्मेलनमा नेता थापाले आन्दोलनको व्यवस्थापकीय पक्षमा भएको ठूलो खर्च कसले र कहाँबाट व्यहोरिरहेको छ भन्ने प्रश्नको जवाफ आयोजकहरूले दिनुपर्ने माग गरे।

उनले भने, ‘हजारौं युवाहरू देशैभरि एकैपटक सडकमा उत्रिँदा त्यसको व्यवस्थापकीय खर्च कहाँबाट आयो ? उनीहरूलाई वितरण गरिएको पानी, खाजा, प्रचार सामग्री र यातायातको व्यवस्थापन कसले गरिरहेको छ ? यो कुनै सामान्य खर्च होइन। यसको पछाडि कुन अदृश्य शक्तिले लगानी गरिरहेको छ, यो देशले जान्न चाहन्छ।’

नेता थापाले यो आन्दोलनलाई केही निश्चित समूहले युवाहरूको भावनामाथि खेलेर देशमा अस्थिरता फैलाउन गरेको नियोजित षड्यन्त्रको संज्ञा दिए।

उनले थपे, ‘यो कुनै स्वत:स्फूर्त आन्दोलन होइन, यो पूर्णतः प्रायोजित हो। यदि यो नागरिक स्तरबाटै उठेको हो भने यसको आर्थिक स्रोत पारदर्शी हुनुपर्छ। तर, अहिलेसम्म कोही पनि यसको जिम्मा लिन अगाडि सरेको छैन, यसले हाम्रो शंकालाई थप बलियो बनाएको छ।’

प्रकाशित: २७ कार्तिक २०८२ १६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App