अदालत अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा भएको सुनुवाइपछि प्रधानमन्त्रीलाई लिखित जवाफ पेस गर्न आदेश दिइएको हो ।
राजदूत फिर्तासम्बन्धी विवादमा दिएको आदेशमा निवेदकको माग बमोजिम 'आदेश किन जारी हुनु नपर्ने हो'भनी १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएको थियो। तर,प्रधानमन्त्री कार्कीले राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशक दिएकी थिइन्। हाल ११ देशका राजदूतहरू परराष्ट्र मन्त्रालयमा हाजिर गरिरहेका छन्।
अदालतको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती, प्रेम सिलवाल, अनन्तराज लुइँटेल, विशाल थापाले अन्तिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, प्रधानमन्त्री कार्की र परराष्ट्र मन्त्रालयलाई प्रतिवादी बनाइएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाइएको थियो ।
प्रकाशित: ७ मंसिर २०८२ १५:१३ आइतबार





