सम्पत्ति जाँचबुझ छानबिन आयोगको क्षेत्राधिकार तथा कामकारबाहीसँग सम्बन्धित जटिल संवैधानिक र कानुनी प्रश्नहरूको निरुपणका लागि सर्वोच्च अदालतले ‘एमिकस क्युरी’ (Amicus Curiae) को सहयोग लिने भएको छ।
अधिवक्ता डा. प्रेमराज सिलवालले सम्पत्ति जाँचबुझ छानबिन आयोगलाई समेत विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा गम्भीर संवैधानिक तथा कानुनी प्रश्न उठेको ठहर गर्दै सर्वोच्च अदालतले विज्ञहरूको स्वतन्त्र राय मागेको हो।
अदालतको आग्रहअनुसार नेपाल बार एसोसिएसनले बुधबार पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईलाई एमिकस क्युरीका रूपमा मनोनयन गर्ने निर्णय गरेको छ।
सम्पत्ति आयोगको क्षेत्राधिकार, अधिकार प्रयोग तथा कामकारबाहीसँग सम्बन्धित तीनवटा रिट निवेदनमा उठाइएका विषयहरू संवैधानिक र कानुनी दृष्टिले गम्भीर तथा जटिल रहेको निष्कर्षसहित उनीहरूलाई अदालतको सहयोगीका रूपमा पठाइएको हो।
एमिकस क्युरी भनेको के हो?
‘एमिकस क्युरी’ (Amicus Curiae) ल्याटिन भाषाको शब्द हो, जसको अर्थ ‘अदालतको सहयोगी’ भन्ने हुन्छ। यो कुनै मुद्दाको पक्ष वा विपक्षमा रहने व्यक्ति नभई अदालतलाई निष्पक्ष कानुनी राय, विश्लेषण तथा विशेषज्ञ सुझाव उपलब्ध गराउने स्वतन्त्र कानुनविद् वा विषयविज्ञ हो। जटिल संवैधानिक वा सार्वजनिक सरोकारका मुद्दामा न्यायिक निर्णयलाई थप सुदृढ बनाउन अदालतले एमिकस क्युरीको सहयोग लिने प्रचलन छ।
प्रकाशित: ३१ असार २०८३ २१:४९ बुधबार





