सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई सर्वोच्च अदालतले थुनामै राख्न आदेश दिएको छ।
खड्काको तर्फबाट उनकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले उक्त आदेश दिएको हो।
आज उक्त रिटमाथि वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने, सतिष्कृष्ण खरेल र अधिवक्ताहरू प्रकाश रेग्मीले बहस गरेका थिए। सर्वोच्चले यस मुद्दाको पेसी वैशाख ३ गतेका लागि तोकेको छ।
यस्तै खड्काको अनुसन्धान फाइल सर्वोच्चले झिकाएको छ। खड्कामाथि पछिल्लो समय राजस्व अनुसन्धान विभागबाट अनुसन्धान चलिरहेको छ।
खड्कालाई हाल जे जुन अवस्थामा राखिएको छ, भोलि बिहीबार रिट निवेदनको सुनुवाइ नभएसम्म सोही अवस्थामा राख्न सर्वोच्चले आदेश दिएको हो। खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत चैत १५ गते पक्राउ गरेको थियो।
प्रकाशित: २ वैशाख २०८३ १५:३७ बुधबार





