१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सर्वोच्च आगजनीः ल क्याम्पसका पूर्व स्ववियु सभापति ढुंगेल पक्राउ

सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा नेपाल ल क्याम्पसका पूर्व सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्। नेपाल प्रहरी स्रोतका अनुसार ढुंगेललाई चितवनबाट प्रहरीले पक्राउ गरेको छ।  

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतमा आगजनी भएको थियो। सर्वोच्चमा आगजनी भइरहँदा अधिवक्ता समेत रहेका ढुंगेल आक्रोशित रूपमा सुनिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छन्। उनले सर्वोच्च अदालत र न्यायाधीशमाथि आक्रोश पोखेर आक्रमण गर्न उक्साइरहेका सुनिन्छन्।  

सोही कारण जिल्ला प्रहरी परिसर, काठमाडौं प्रहरीले उनलाई खोजी गरिरहेको थियो। सर्वोच्च अदालत प्रशासनले नै अदालतमा आगजनी गर्नेविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको छ।  

परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) रमेश थापाले ढुंगेल प्रक्राउ परेको पुष्टि गरे। ‘उहाँ प्रहरीको नियन्त्रणमा हुनुहुन्छ। सुरक्षाको दृष्टिकोणले धेरै कुरा भन्न मिल्दैन,’ उनले भने।  

परिसरका अनुसार ढुंगेललाई प्रहरीले खोजी गरिरहेको थियो। केही दिन अघिको एक संवादमा प्रहरीका उच्च अधिकारीले उनको खोजी भइरहेको र पक्राउ परे अनुसन्धानसहित कानुनी कारबाही गरिने प्रतिक्रिया दिएका थिए।  

ढुंगेल तत्कालीन नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेता हुन्। उनी २०७९ को स्ववियु निर्वाचनमा ल क्याम्पसको सभापति निर्वाचित भएका थिए।  

प्रकाशित: १० मंसिर २०८२ १५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App