राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी नेतृ सुमना श्रेष्ठले पार्टीका सदस्यहरूले नेतृत्वलाई कहिल्यै पनि प्रश्नभन्दा माथि राख्न नहुने सुझाव दिएकी छन्।
बुधबार सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै उनले ‘नयाँ रास्वपा’ लाई शुभकामना दिँदै दलभित्रको लोकतन्त्र बचाउन नेतृत्वसँग प्रश्न गरिरहनुपर्नेमा जोड दिएकी हुन्।
श्रेष्ठले पार्टीभित्र प्रश्न सोध्ने संस्कृति मर्नु लोकतन्त्रका लागि घातक हुने बताएकी छन्।
उनले लेखेकी छन्, ‘नयाँ रास्वपामा नयाँ-पुराना साथीहरूले अहिले उठाउनु भएको प्रश्नहरू अहिलेको नेतृत्वले यो कुरामा सुधार गर्नेछ र सदस्यहरूले नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने छैनन् भन्ने विश्वास गरौँ।’
उनले सही प्रश्नले मात्र दललाई सही दिशा दिन सक्ने बताउँदै अन्धभक्त भएर होइन, सचेत भएर अघि बढ्न सुझाव दिएकी छन्।
पार्टीभित्र प्रश्न गर्नेहरूलाई निरुत्साहित गरिने प्रवृत्तिप्रति उनले चिन्ता व्यक्त गरेकी छन्। ‘राजनीतिक दलहरूभित्र प्रश्न मरेको दिन, प्रश्नलाई पाखा लाउन मिडिया ट्रायल र साइबर बुलिङ गरेर व्यक्तिको चरित्र हत्या गर्न लागेको दिन दलभित्र लोकतन्त्र बाँकी रहँदैन,’ उनको भनाइ छ।
नेतृ श्रेष्ठले आफू अवसर नपाएर पार्टीबाट नबाहिरिएको स्पष्ट पार्दै जनताको चाहना अनुरूपको बलियो शक्ति बन्न रास्वपालाई शुभकामना दिएकी छन्।
उनले भनेकी छन्, ‘नयाँ रास्वपामा नयाँ सम्भावनाहरूले फल्ने फुल्ने वातावरण मिलोस्। मेरो राजनीतिक भविष्यको साटो पार्टीभित्रको लोकतान्त्रिक मूल्य मान्यता जोगाउने चिन्ता लिनुहोला।’
प्रकाशित: १६ पुस २०८२ १९:१७ बुधबार





