राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबिच छलफल जारी छ। ललितपुरको कुपण्डोलस्थित बालेन शाहका सहयोगी कुमार बेनको निवासमा फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयास स्वरुप दुईबिच छलफल जारी रहेको हो।
भित्र रवि र बालेनबिच छलफल चलिरहँदा बाहिर भने हामी नेपालका संयोजक सुदन गुरुङ छन्। उनले दुई जना बसेको घरको गेटमा ताला लगाइदिएका छन्। उनले रवि र बालेनबिच मेल नभएसम्म ताला नखोल्ने बताए। उनले भने, 'सम्झौता नहुँदासम्म हामी रवि लामिछाने र बालेन शाहलाई बाहिर जान दिने छैनौं।'
उनले सामाजिक सञ्जालमा एक भिडियो जारी गर्दै भनेका छन्, ‘जबसम्म दुई जना मिल्नु हुँदैन तबसम्म यो गेट खोलिँदैन। हामीले गेटमा ताला लगाएर राखेका छौँ। हामी यहाँ गार्ड छौँ, यहाँबाट कोही पनि भित्र छिर्दैन कोही पनि बाहिर निस्कँदैन। कुरा नमिलेसम्म यत्तिकै हो।’
प्रकाशित: १० पुस २०८२ १४:०७ बिहीबार





