‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनले जनताको भरोसा तोडेको आरोप लगाएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै गुरुङले गृहमन्त्री अर्याललाई आफ्नो वाचा सम्झेर पद छाड्न चेतावनी दिएका हुन्।
गुरुङले गृहमन्त्री अर्याल जनताको आवाज सुन्न असफल भएको टिप्पणी गरेका छन्। उनले लेखेका छन्, ‘देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘जेनजीलाई कारबाही गर’ सुन्ने गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।’
आफ्नो कार्यकालको दुई महिना बितिसक्दा पनि कुनै हत्यारा वा भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको भन्दै गुरुङले गृहमन्त्रीको कार्यक्षमतामाथि प्रश्न उठाए।
उनले आफूले देशको हितका लागि लड्दा भ्रामक समाचार र चरित्र हत्यासमेत सहेको तर अब गृहमन्त्रीबाट आशा मरिसकेको बताएका छन्।
‘हामी योग्य, इमानदार र परिणाम देखाउने नेतृत्वका लागि लड्यौं। हामी भ्रष्टाचार अन्त्य र राष्ट्रको भविष्य सुरक्षित गर्न उठ्यौं,’ गुरुङले लेखेका छन्, ‘तर अब तपाईंबाट आशा मरिसकेको छ।’
गुरुङले गृहमन्त्री अर्याललाई चुनाव गराएर उम्किने प्रयास नगर्न पनि चेतावनी दिएका छन्। उनले भनेका छन्, ‘यो आन्दोलन ८४ को चुनाव ८२ मा सार्नका लागि गरिएको होइन। नेपाली जनता र जेन-जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन।’
उनले गृहमन्त्रीलाई पदमा बसिरहे दुई दिनपछि हुने पत्रकार सम्मेलनले उनको भविष्य निर्धारण गर्ने चेतावनीसमेत दिएका छन्। ‘प्रधानमन्त्रीको प्रिय पात्र भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो,’ उनले भने, ‘जुन कामको लागि पठाइएको हो, त्यो गर्नुहोस्। जनता र युवा जागिसके।’
प्रकाशित: २० कार्तिक २०८२ १५:२७ बिहीबार





