४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

सुदनको स्पष्टोक्ति- हामी कसैका कार्यकर्ता होइनौं, एकीकरणका अभियन्ता हौं

जेन-जीका अगुवा एवं हामी नेपालका संस्थापक सुदन गुरुङले वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहँदा आफ्नो कुनै पनि राजनीतिक दलमा संलग्नता नरहेको स्पष्ट पारेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत गुरुङले राष्ट्रको हित र जनताको इच्छालाई सर्वोपरि मानेर सम्पूर्ण वैकल्पिक शक्तिलाई एउटै डालोमा ल्याउन एकीकरण अभियान चलाइरहेको सुनाए।

उनले आफूहरू सत्ता, पद वा व्यक्तिगत प्रसिद्धीबाट कहिल्यै आकर्षित नभएको र भविष्यमा पनि नहुने दाबी गरे।

उनले भनेका छन्- ‘जेन-जी शहिदहरुको त्यो चिसो खुट्टाको कसम ! राष्ट्रको हित र जनताको इच्छालाई सर्वोपरि मानेर सम्पूर्ण वैकल्पिक शक्तिलाई एउटै डालोमा ल्याउनका निम्ति एकीकरण अभियान चलाउँदै गर्दा हाम्रो कुनै पनि राजनैतिक दलमा संलग्नता नरहेको स्पष्ट गर्न चाहन्छु।’

साथै, गुरुङले नागरिकको बलिदानको जगमा उभिएर सत्ताको सपना देख्ने नयाँ राजनीतिक शक्तिहरूलाई सचेत समेत गराएका छन्। उनले जेन-जीको जनादेश, साहसी युवाहरूको नेतृत्व र सहिद तथा घाइतेको बलिदानलाई प्राथमिकतामा राख्ने शक्तिलाई मात्र आफूहरूले स्वीकार गर्ने स्पष्ट पारे।

उनले भनेका छन्, ‘हाम्रो दाजुभाइ र दिदीबहिनीको बलिदानमा उभिएर सत्तामा पुग्ने सपना हेर्दै गरेका सम्पूर्ण उदाउँदै गरेका विभिन्न राजनैतिक शक्तिहरूलाई स्मरण रहोस्– जेन-जीको जनादेश, साहसी जेन–जी दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेतृत्व र सम्मानजनक स्थान र सहिद तथा घाइतेका बलिदानलाई प्राथमिकतामा राख्ने शक्तिलाई मात्र हामी स्वीकार्ने छौं।’

पछिल्लो समय गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतका नयाँ तथा वैकल्पिक शक्तिहरूलाई एकताबद्ध गराउने कसरत गरिरहेका छन्।

प्रकाशित: १२ पुस २०८२ १४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App