राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूको उपस्थितिमा कडाइ गर्दै अनुपस्थित हुनुको कारणसहित ‘गुगल फारम’ भर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ।
संसद बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित रास्वपा संसदीय दलले यस्तो नियम लागू गरेको हो।
गत फागुन ४ गते गणपूरक संख्या नपुगेर सरकारले ल्याएको विधेयक स्वीकृत हुन नसकेपछि रास्वपाले सांसदहरूको उपस्थितिमा कडाइ गर्ने निर्णय लिएको हो। रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीका सम्पूर्ण सांसदहरूलाई यससम्बन्धी निर्देशन सन्देशमार्फत पठाइसकिएको छ।
नयाँ व्यवस्थाअनुसार सांसदहरूले चारवटा अवस्थामा अनिवार्य रूपमा ‘संसद बैठक अनुपस्थिति आवेदन फारम’ भर्नुपर्नेछ। संसद बैठकमा पूरै समय उपस्थित हुन नसक्दा, बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुँदा, उपस्थित भएर पनि बीचमै बैठक छाड्नुपर्दा तथा बैठकको बीचमा बाहिर गएर पुनः फर्किनुपर्ने अवस्थामा सांसदहरूले यो फारम भर्नुपर्नेछ।
उक्त फारममा सांसदहरूले आफ्नो नाम, निर्वाचन क्षेत्र, सम्पर्क नम्बर, अनुपस्थित हुनुको कारण तथा बैठक बीचमै छाड्नुको कारण स्पष्ट रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ।
यसका साथै, अनुपस्थित हुनुपरेको कारण प्रमाणित हुने आधिकारिक कागजात वा प्रमाणसमेत फारममा अपलोड गर्नुपर्नेछ।
सांसदहरू बिरामी परेको खण्डमा उपचार भइरहेको स्वास्थ्य संस्थाको विवरण खुलाउनुपर्नेछ भने आफ्नो निर्वाचन क्षेत्र जाँदा जाने र आउने कार्यतालिकाको पूर्ण विवरण बुझाउनुपर्नेछ।
त्यसैगरी औपचारिक निमन्त्रणा वा विदेशको कार्यक्रम भएमा आयोजकको विवरण र अनुमति पत्रसमेत फारममा खुलाउनुपर्ने नियम रास्वपाले तय गरेको छ।
प्रकाशित: १ भाद्र २०८३ १८:१५ सोमबार





