राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले सुर्खेतकी १६ वर्षीय किशोरी इनिशा बिकको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टमा देखिएको समाचारले आफू स्तब्ध भएको बताएका छन्।
श्रेष्ठले उक्त घटनालाई क्रुर, लज्जास्पद, दुखद, अमानवीय र निन्दनीय घटना भएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। उनले दोषी जुनसुकै उमेर समूहका भए पनि कडा कारबाही हुनुपर्ने माग गरेका छन्।
'सुर्खेतकी १६ वर्षीय किशोरी इनिसा बिकको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टमा देखिएको समाचारले स्तब्ध बनायो । यो क्रुर, लज्जास्पद, दुखद, अमानवीय र निन्दनीय घटना हो। घटनाको निष्पक्ष छानबिन हुनैपर्छ, दोषी जुनसुकै उमेर समुहका हुन् कडा कारबाही होस्,' श्रेष्ठले भने।
उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको दोषी पत्ता नलाग्दै अर्को अत्यासलाग्दो घटना सार्वजनिक भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
'निर्मला पन्तको बलात्कारपछि हत्याको दोषी पत्ता नलाग्दै बलात्कारको अर्को अत्यासलाग्दो घटनाले हाम्रा युवाहरूको चेतनालाई गिज्याइरहेको छ,' उनले सामाजिक सञ्जालमा लेखे, 'यस्तो छानबीन होस् र यस्तो सजाय होस् कि अबका दिनमा कोही किशोरीले आफूलाई असुरक्षित महसुस गर्न नपरोस्! निर्मला पन्त र इनिसा बिकको नियति अब कुनै किशोरीले भोग्न नपरोस्!'
प्रकाशित: २८ फाल्गुन २०८२ ०८:०२ बिहीबार





