ताप्लेजुङको चार हिमाली बस्तीका निर्वाचन केन्द्रहरूमा शुक्रबार मतदान अधिकृतसहित निर्वाचन सामग्री पठाइएको छ।
जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार हिमाली बस्ती याङ्मा, ओलाङचुङगोला, घुन्सा र ग्याब्ला मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र सुरक्षाकर्मीसहितको टोली प्रस्थान गरेको हो। शुक्रबार बिहान ओलाङचुङगोलाका मतदान अधिकृत डम्बरबहादुर आङदेम्बे, ग्याब्लाका मतदान अधिकृत बिमल गौतम, घुन्साका मतदान अधिकृत देवेन्द्र मेन्याङ्वाको र याङ्माका मतदान अधिकृत माधव खड्काले मतपत्रसहितका निर्वाचन सामग्री बुझेर सम्वन्धित मतदान केन्द्रतर्फ प्रस्थान गरेका जिल्ला निर्वाचन समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिए।
याङ्मा बस्ती समुद्र सतहबाट चार हजार दुई सय मिटर उचाईमा रहेको छ। भौगोलिक हिसावले कठिन रहेको याङ्मा बस्ती ओलाङचुङगोला हुँदै जानु पर्छ। घुन्सा तीन हजार ४७५ मिटर उचाइमा रहेको छ। तीन हजार २३२ मिटर उचाइमा रहेका फलेका बासिन्दाले घुन्सामै पुगेर मतदान गर्छन्। तीन हजार दुई सय मिटर उचाइमा रहेको ओलाङचुङगोला झुरुप्प परेको पर्यटकीय बस्ती हो।
मौसममा देखिएको बदली र सम्भावित यात्रा जोखिमलाई समेत ध्यानमा राखी फागुन १५ बाटै उपल्लो क्षेत्रका मतदान केन्द्रमा खटिने कर्मचारी र निर्वाचन सामग्री पठाइएको प्रमुख जिल्ला अधिकारी सेढाइँले जानकारी दिए। उनका अनुसार फागुन १७ गतेसम्ममा सबै मतदान अधिकृतसहितका कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगी १८ गते स्थानीयसँगको उपस्थितिमा बैठक बस्नेदेखि अनुसूची अनुसारका सूचना प्रकाशित गर्नुपर्ने हुन्छ।
प्रजिअ सेढाँइ, दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का, जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतम, सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठक, प्रमुख अनुसन्धान अधिकृत श्रीभजन रायसहितले उपल्लो हिमाली क्षेत्रमा जाने मतदान अधिकृतसहितका कर्मचारीलाई बिदाइ गर्दै निष्पक्ष, भयरहित, शान्तपूर्ण र विवादरहित हिसावले चुनाव सम्पन्न गरी मतपेटिका समेतको प्रभावकारी सुरक्षा गरी लिएर फर्कन बिदाइ गरेका छन्।
प्रकाशित: १५ फाल्गुन २०८२ ११:२० शुक्रबार





