२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

विधान मिचेर विशेष महाधिवेशन गरियो, हामीले सत्य कुरा बोलेका हौँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विशेष महाधिवेशन विधि र विधानअनुसार नभएको जिकिर गरेका छन्। उनले पार्टीको विधान र नियमावली मिचेर विशेष महाधिवेशन गरिएको भन्दै त्यसबारे प्रश्न उठाउँदा आफूहरूलाई पार्टी फुटाउन खोजेको आरोप लगाइएकोमा असन्तुष्टि जनाएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित कांग्रेसको इतरपक्षीय भेलालाई सम्बोधन गर्दै सिंहले विशेष महाधिवेशनको प्रक्रियामाथि प्रश्न उठाउनु पार्टी विभाजनको प्रयास नभएको स्पष्ट पारे।

“विधान र नियमावलीलाई मिचेर गरियो। हामीले विधानसम्मत भएर गरौँ भन्दा हामीलाई पार्टी फुटाउन दुष्प्रयास गर्‍यो भनियो। हामीले सत्य कुरा बोलेका हौँ,” सिंहले भने।

उनले नेपाली कांग्रेसलाई विधि, विधान र संस्थागत प्रक्रियाअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिए। पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन संस्थागत निर्णय र प्रक्रियाको पालना अनिवार्य रहेको उनको भनाइ थियो।

सिंहले पार्टीभित्र देखिएको विवादलाई विधि र संवादमार्फत समाधान गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने बताए। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको संस्थागत हितलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।

उनले शुक्रबारको भेलाले कांग्रेसको आगामी १५औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खुला गर्ने विश्वाससमेत व्यक्त गरे। भेलाले पार्टीलाई संस्थागत रूपमा अघि बढाउँदै १५औँ महाधिवेशनमा जाने आधार तयार गर्ने उनको विश्वास थियो।

 

प्रकाशित: २९ श्रावण २०८३ १९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App