५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

सदनबाट सभामुखले भने: संसद सुचारू बनाउन सरकार र राजनीतिक दलबीच हुनुपर्ने छलफल नहुँदा चिन्तित छु

सभामुख देवराज घिमिरेले संसद सुचारू बनाउन सरकार र राजनीतिक दलबीच हुनुपर्ने छलफल नहुँदा चिन्तित भएको बताएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा गर्ने सम्बोधनमा भाग लिन आह्वान गर्दै विपक्षी दलका माग सम्बोधन गर्न आफू क्रियाशिल रहेको बताए ।  

‘भिजिट भिसा’लगायत प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू बैठक छाडेर बाहिरिने गरेपछि प्रधानमन्त्री ओलीको सम्बोधनमा बसिदिन सभामुखले आग्रह गर्दै समस्याबारे जानकारी गराएका हुन् ।  

सभामुख घिमिरेले भने, ‘प्रतिपक्षी दलका सांसदहरू नियमित बैठकमा सहभागी हुनुभएको छैन । यसमा सहमतिका लागि म आफैँले संवादको मार्ग अपनाएको थिए । यसका लागि आज पनि म सहमतिका लागि प्रयत्न गरिरहेको छु ।’

उनले भने, ‘सदन सुरु गर्न सरकार र राजनीतिक दलबीच हुनुपर्ने छलफल र संवाद नभएकामा मलाई चिन्ता लागेको छ । यसरी बैठक सुरु हुनासाथ ‘असहमति प्रदर्शन’ गर्ने र बाहिरिने प्रवृत्ति संस्थागत लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका दृष्टिले दीर्घकालीन रूपमा हानिकारक साबित हुनसक्छ ।’

संसद् केवल असहमति अभिव्यक्त गर्ने मात्र नभई राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलोसमेत रहेको सभामुख घिमिरेले बताए ।  

के भने सभामुखले पूर्ण पाठ पढ्नुहोस् :

म आकस्मिक समय माग गर्ने माननीयहरूलाई समय दिन्छु। त्यसभन्दा अगाडि म केही भनाइ राख्न चाहन्छु । माननीयज्यूहरू बस्नुस् ।

माननीय सदस्यज्यूहरू,

-भिजिट भिसा प्रकरणको छानबिनलगायतका माग राखी लामो समयदेखि प्रतिपक्षी बेञ्चमा रहेका माननीय सदस्यज्यूहरू नियमित बैठकमा सहभागी हुनुभएको छैन। यस सम्बन्धमा सहमतिका लागि म आफैंले सम्भाव्य सबै पहल र संवादको मार्ग अपनाएकोबारे माननीयज्यूहरू जानकार नै हुनुहुन्छ । यसका बाबजुत पनि मआज पनि सहमतिका लागि प्रयत्नशील रहेको छु । तर सदन सुचारू बनाउन सरकार र राजनीतिक दलहरूबीच हुनुपर्ने छलफल र संवाद नभएकोमा चिन्तित छु ।

-यसरी बैठक सुरू हुनासाथ असहमति प्रदर्शनू गर्ने र बाहिरिने प्रवृत्ति संस्थागत लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका दृष्टिले दीर्घकालीनरूपमा हानिकारक सावित हुनसक्छ। हामी भविष्यलाई के सन्देश दिइरहेका छौं भन्ने विषयमा सबै सचेत रहनु आवश्यक छ। संसद केवल असहमति अभिव्यक्त गर्ने स्थलमात्र होइनस राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि हो ।

अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने प्रयोजनका लागि संघीयतासँग प्रत्यक्ष सम्बन्धित विधेयकहरूलाई पारित गर्ने प्रक्रियामा छौं। यी विधेयकहरूमा सबै माननीयज्यूहरूको गम्भीर र रचनात्मक बहस अपरिहार्य छ। समितिहरूमा जस्तै सभामा पनिसंसदको गर्भमा रहेका यी कानूनले सबै माननीयहरूकोबहस खोजिरहेको महसुस गरेको छु ।आज सम्माननीय प्रधानमन्त्रीले सभामा बोल्नका लागि समय लिनुभएको छ । सबै माननीयहरूलाई बैठकमा सहभागी हुन आग्रहगर्दछु ।

-म फेरि पनि सरकार, प्रतिपक्ष र सत्तापक्षमा रहनुभएका दल तथा सबै माननीय सदस्यज्यूहरूलाई संवादको वातावरण सृजना गरी सदनलाई आफ्नो मूल लयमा फर्काउन अपिल गर्दछु ।

 

प्रकाशित: १३ भाद्र २०८२ १५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App