प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले ललितपुरसहित देशभरका नेवार समुदायको भाषा, कला, संस्कृति र सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्ने बताएका छन्।
ज्यापू समाज यलद्वारा आज आयोजित समाजको ३३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सांस्कृतिक सम्पदा संरक्षण अहिलेको पुस्ताको जिम्मेवारी भएको बताए।
सभामुख अर्यालले ललितपुरका मठमन्दिर, सांस्कृतिक सम्पदा, परम्परा र मौलिक संस्कृतिको संरक्षणमा नेवार समुदायले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे। उनले स्थानीय समुदायसँग प्रत्यक्ष संवादबाट प्राप्त विषयलाई कानुन निर्माणको प्रक्रियामा लैजान आफूले पहल गर्ने बताए।
नेपालको संस्कृति, सम्पदा तथा विभिन्न सामाजिक र राजनीतिक आन्दोलनमा नेवार समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले आगामी पुस्ताका लागि मौलिक संस्कृति र सम्पदा संरक्षण गर्नुपर्नेमा जोड दिए।
प्रकाशित: १७ आश्विन २०८३ १३:४० शनिबार


-600x400.jpg)


