राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले संसद्को हिउँदे अधिवेशनमा कानुन निर्माणसँगै जनजीविकाका विषयलाई पनि प्राथमिकताका साथ उठाइएको बताएका छन्।
अधिवेशनपछि शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले कानुन निर्माणलाई प्राथमिकतामा राखेर काम गरिएको बताए।
राज्य व्यवस्था तथा सुशासन समितिमा तीनवटा विधेयक रहेको र तीमध्ये दुईवटा सर्वसम्मत तथा एउटा बहुमतबाट पारित गरी सदनमा प्रतिवेदन बुझाइएको उनले बताए। तीमध्ये दुईवटा विधेयक सदनबाट पारित भइसकेको र अर्को विधेयक पनि पारित हुने चरणमा रहेको उनको भनाइ छ।
‘कानुन निर्माणको सन्दर्भमा यो अधिवेशनमा प्रस्तुत भएका विधेयकहरू त्यसमै फोकस थिए,’ उनले भने। कानुन निर्माणसँगै अधिवेशनमा जनजीविकाका विषय पनि प्राथमिकताका साथ उठेको ढकालले बताए। सत्तापक्ष र प्रतिपक्षको सीमाभन्दा माथि उठेर आम नागरिकका विषय संसद्मा उठेको उनको भनाइ छ।
‘त्यो मात्रै नभइकन जनजीविकाका कुराहरू, जनजीविकाका विषयहरू के सत्तापक्ष, के प्रतिपक्ष, सत्तापक्ष र प्रतिपक्षको त्यो छाया नदेखिने गरी आम नागरिकका विषयहरू उठे, जुन कुरा अलि नौलो कतिपय सन्दर्भमा लाग्यो पनि, देखियो होला पनि,’ उनले भने।
लोकतन्त्रको सुन्दर पक्षका रूपमा प्रतिपक्षका आवाज पनि संसद्ले सुन्नुपर्ने उनले बताए। संसद्मा सिर्जनात्मक बहस र कटाक्ष हुने भए पनि प्रतिपक्षबाट सरकारलाई सिर्जनात्मक खबरदारीसमेत भएको उनको भनाइ छ।
‘लोकतन्त्रको सुन्दर पक्ष प्रतिपक्षका आवाजहरूलाई पनि प्रतिनिधिसभा, संसद्ले सुन्नुपर्छ। यो बीचमा सिर्जनात्मक बहस, कटाक्ष एउटा पाटो होला तर प्रतिपक्षहरूबाट पनि सिर्जनात्मक खबरदारीहरू सरकारलाई रहे, कटाक्षबाहेक पनि,’ उनले भने।
यस अवधिमा देशले विपद् तथा महाविपद्को सामना गर्नुपरेको ढकालले बताए। विशेषगरी रसुवाको भोटेकोशी बाढीबाट भएको क्षति तथा त्यसको व्यवस्थापनका विषय संसद्मा उठेको उनले बताए।
‘विपद् मात्रै होइन, राज्यले, देशले महाविपद् बेहोर्नुपर्यो। रसुवा भोटेकोशीको बाढीबाट भएको क्षति र त्यहाँको व्यवस्थापनका पाटालगायतका विषयमा छोटो समय रहिकन पनि यो बीचको विपद्का बीचमा सामना गर्नुपर्ने धेरै जटिलताहरू सामना गर्दैछ,’ उनले भने।
प्रकाशित: १७ आश्विन २०८३ १३:२० शनिबार





