सभामुख डोलप्रसाद अर्यालले प्रधनमन्त्री वालेन्द्र शाह (बालेन)लाई संसद्मा उपस्थित गराउने विषयमा छलफल गर्ने बताएका छन् ।
प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलका नेताले अवरोध गरेपछि उनले बुधबारको बैठकमा आगामी आर्थिक वर्षको लागि पेश भएको नीति तथा कार्यक्रममाथि छलफल नसकिने भन्दै प्रधानमन्त्री शाहसँग बैठकपछि संवाद गर्ने बताएका हुन् । यद्यपी उनको आश्वासन नसुनी विपक्षी दलका नेताले बैठक संचालन गर्न अवरोध गरेका छन् ।
बुधबारको बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रम छलफलको लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकोमा उनले यो जिम्मा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई दिएका थिए । तर प्रतिपक्षी दलका सांसदहरुले भने बैठकमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गर्दै आएका छन् ।
निरन्तरको अवरोध पछि प्रतिनिधि सभा बैठक फेरि १५ मिनेटका लागि स्थगित भएको छ । यसअघि पनि १५ मिनेटका लागि स्थगित भएको बैठक एक घण्टापछि मात्रै सुरु भएको थियो । यो बीचमा सभामुख अर्यालले सत्तापक्ष र प्रतिपक्षका संसदीय दलका नेतासँग सदन सुचारु गर्ने विषयमा छलफल गरेका थिए। छलफलमा सहमतिपछि बैठक पुन: बसेको भएपनि फेरि प्रतिपक्षी दलले अवरोध गरेका हुन् ।
प्रकाशित: ३० वैशाख २०८३ १५:३७ बुधबार





