संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले सोमबार सभामुख डोलप्रसाद अर्यालसँग सामुहिक भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर उनीहरूले एकसाथ भेट गरेका हुन्।
भेटमा सभामुख अर्यालले मिनि संसदको रुपमा रहने संसदीय समितिहरुलाई प्रभावकारीरुपमा अघि बढाउन सभापतिहरुलाई निर्देशन दिए। दलीय प्रतिनिधित्व गरेर निर्वाचित भएता पनि समितिका कामकारबाहीमा दलको आस्था र प्रभाव नदेखाउन आग्रह गर्दै उनले संघीय संसद सचिवालय र आफु सधैं सहयोगका लागि तत्पर रहेको आश्वास दिए।
समिति सभापतिहरुले पनि आफुहरुले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। पुराना असल अभ्यासहरुलाई निरन्तरता दिँदै नविन ढंगबाट संसदीय मूल्य र मान्यतालाई आत्मसाथ गर्दै समितिका गतिविधिहरुलाई अघि बढाउने उनीहरुको भनाइ थियो।
यस अवसरमा प्रतिनिधि सभाका १० र संयुक्त २ गरि १२ वटा समितिका सभापतिहरुको उपस्थिति रहेको थियो।
प्रकाशित: ७ वैशाख २०८३ १५:३० सोमबार





