१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

कोहीकोही जेनजी बरालिएका छन्, कोही उग्र पनि छन् : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले संविधानले बनाएका संरचनाको सम्मान गर्नुपर्ने बताएकी छन्।

मुलुक बनाउने जिम्मेवारी सबैको भएको बताउँदै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार सातै प्रदेशका मुख्यमन्त्रीसँग भएको बैठकमा उनले भनिन्, 'हामी सबै मिलेर मुलुक बनाउने हो। हामीले नसुधारे कसैले सुधारिदिँदैन। त्यसैले जेजस्ता समस्या छन्, मिलेर समाधान गरौँ।'

उनले स्थायित्वका लागि निर्वाचित सरकार नै चाहिने र राजनीतिक दल नभइ व्यवस्था नचल्ने जिकिर गरिन्। उनले भनिन्, 'स्थायित्वका लागि निर्वाचित सरकार नै चाहिन्छ। निर्वाचन र राजनीतिक दल एकअर्काका परिपूरक हुन्। राजनीतिक दल नभई यो व्यवस्था चल्दैन। त्यसैले स्वतन्त्र विज्ञ भनेर नाम चलेका व्यक्ति पनि चुनाव लड्न दल खोल्दै छन्।'

यस्तै कार्कीले जेनजीहरूलाई पार्टी खोलेर चुनावमा आउन सुझाव दिएको समेत बताइन्। उनले कोहीकोही जेनजी बरालिएका र कोही उग्र रहेको बताइन्। उनले जेनजीहरूले यो समयको संवेदनशीलता र अन्तरिम सरकारका सीमा बुझ्नुपर्ने जिकिर गरिन्। उनले भनिन्, 'जेनजीहरूलाई पनि पार्टी खोलेर चुनावमा सहभागी होऊ र आफ्ना एजेन्डा जनताबाट अनुमोदन गराऊ भनेका छौँ। कोहीकोही बरालिएका छन्, कोही उग्र पनि छन्। उनीहरूले यो समयको संवेदनशीलता र अन्तरिम सरकारका सीमा बुझ्नुपर्छ।'

निर्वाचनको वातावरण बनाउने सरकारको मुख्य प्राथमिकता भएको बताउँदै प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका लागि बन्दोबस्तीका सबै सामानको व्यवस्था गर्न लागेको जानकारी गराइन्।

प्रकाशित: १७ कार्तिक २०८२ ०६:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App