गोरखाको पालुङटार नगरपालिका र काठमाडौंको टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ।
दिगो विकासका विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, प्राविधिक सहयोग तथा आपसी सहकार्यलाई संस्थागत गर्ने उद्देश्यले सोमबार आयोजित कार्यक्रममा दुवै नगरपालिकाका प्रमुखहरूले भगिनी सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीका अनुसार सुशासन, सेवा प्रवाह, भौतिक पूर्वाधार विकास, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति तथा आर्थिक विकासका क्षेत्रमा आपसी सहकार्य गर्ने सहमति भएको छ।
समझदारीअनुसार जनप्रतिनिधि तथा कर्मचारीहरूबीच अध्ययन भ्रमण, सफल अभ्यासहरूको आदानप्रदान तथा निजी क्षेत्रबीच सहकार्य विस्तार गर्ने विषयमा समेत सहमति भएको छ।
समझदारीसँगै पालुङटार नगरपालिका–५ स्थित चारकुने बगैँचामा दुवै नगरपालिकाको सहलगानीमा ‘टोखा–पालुङटार मैत्री पार्क’ तथा खुला व्यायामशालाको निर्माण गरिने भएको छ। पार्क निर्माणका लागि दुवै नगरपालिकाले लागत साझेदारी गर्ने सहमति गरेका छन्।
कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले पालुङटारका रैथाने कृषि उत्पादनलाई टोखा क्षेत्रमा बजारीकरण गर्न दुवै नगरपालिकाबीच सहकार्य गरिने बताए।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले भगिनी सम्बन्धले दुवै नगरपालिकाबीच सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन तथा विकासका विविध क्षेत्रमा सहकार्य विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सोही कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले दुई नगरपालिकाबीच स्थापित भगिनी सम्बन्धले नेपालका अन्य स्थानीय तहहरूलाई समेत आपसी सहकार्य तथा भगिनी सम्बन्ध विस्तार गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
भगिनी सम्बन्ध स्थापनाले दुवै नगरपालिकाबीच जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउँदै साझा विकास र समृद्धिको यात्रामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १६ असार २०८३ १५:३५ मंगलबार





