पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहले महाअस्टमीको दिन(मंगलबार) फेसबुकमा भावुक स्टाटस राखेकी छन्। २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर स्व. गणेशमान सिंहकी बुहारी पनि रहेकी सिंहले क्षतिग्रस्त चाक्सीबारीको घरको तस्बिर राख्दै दुखेसो पोखेकी हुन्।
‘दसैं होकी दशा छुट्टाउन गाह्रो परिराछ। दिल दिमाग ले काम गरेको छैन,’ सिर्जनाले लेखेकी छन्, ‘एउटा घरमा तीन पुस्ता बस्छन् भन्नेसम्म पनि हेक्का नराख्नेहरूलाई कुन शब्दमा भनु ? लेख्न आएन।’
घरका सामानसँग पनि भावनात्मक सम्बन्ध हुने कुरा उल्लेख गर्दै उनले अगाडि लेखेकी छन्, ‘कति भावनात्मक सम्बन्ध गाँसिएका हुन्छन् घरका सामानहरूमा । सबै जलेर नष्ट हुँदाको पीडा बेग्लै हुदो रहेछ।’
त्यसपछि उनले सबैलाई दसैंको शुभकामना दिएकी छन्।
सिर्जना २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार थिइन्। उनी त्यो बेला निर्वाचित बालेन्द्र साहको निकटमत प्रतिस्पर्धी थिइन्।
जेन–जी आन्दोलनका क्रममा गणेशमान सिंहले किनेको चाक्सीबारीको घरमा आगजनी र तोडफोड गरिएको थियो। यो त्यही घर हो, जहाँबाट पञ्चायतविरुद्ध आन्दोलन छेडिएको थियो।
प्रकाशित: १४ आश्विन २०८२ १८:३१ मंगलबार





