माओवादीको १० वर्षे सशस्त्र संघर्षका बेला सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’का सारथि मोहन वैद्य ‘किरण’ले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्। स्वास्थ्यलाई कारण देखाउँदै वैद्यले क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्वाचित महासचिव पदबाट बिदा लिएका छन्। गत वर्ष मंसिर २३ गते सम्पन्न भएको महाधिवेशनबाट पछिल्लो पटक नेतृत्वमा आएका वैद्यले पदबाट राजीनामा दिएका हुन्। उनको स्थानमा भर्चुअल माध्यमबाट भएको बैठकले सिपी गजुरेललाई नयाँ महासचिव चुनिएको छ।
नेपाली कम्युनिस्ट आन्दोलनका पुराना नेता वैद्य कुनै समय हालका नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्डका राजनीतिक गुरु मानिन्छन्। ७९ वर्षीय वैद्यको पछिल्लो केही समययता स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। निमोनिया र दमको रोगबाट पीडित छन्। केही समयअघि उनले २२ दिन त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आइसियुमै भर्ना भएर उपचार पनि गराएका थिए।
वैद्यको जन्म विसं २००३ साउन १५ गते प्युठानको खैरा गाउँमा भएको थियो । उनका बुबाको नाम शशीधर र आमाको नाम जानुका हो। उनी आमाबाबुका ८ सन्तानमध्ये जेठा हुन्।
युवा अवस्थामा पुगेपछि वैद्य कम्युनिस्ट नेता पुष्पलालसँग प्रभावित भएका थिए। १८ वर्षकै उमेरमा उनी मोहनविक्रम सिंह र निर्मल लामालाई आदर्श मान्दै कम्युनिस्ट पार्टीमा सहभागी बनेका थिए।
स्नातकोत्तरसम्म अध्ययन गरेका वैद्यले केही समय शिक्षण पनि गरेका थिए। उनको विवाह २०३१ सालमा सुषमा आचार्यसँग भएको थियो। वैद्यका एक छोरा कपिल जन्मिएका थिए। जसको बाल्यकालमै मृत्यु भयो। यस्तै तीन छोरी छन्।
२०४० सालमा नेकपा मशाल विभाजन भएपछि वैद्य मोटो मशालको महामन्त्री बनेका थिए। २०४३ सालमा सेक्टर काण्ड असफल भएपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिए। २०४५ सालमा आफ्नै शिष्य प्रचण्डलाई महामन्त्रीमा प्रस्ताव गरेका थिए।
उनै प्रचण्डको नेतृत्वमा २०५२ मा नेकपा माओवादीले सशस्त्र संघर्ष सुरु गर्दा वैद्य प्रचण्डका सारथि बनेर गएका थिए। वैद्यलाई माओवादीले भन्ने गरेको ‘जनयुद्ध’का मुख्य रणनीतिकार पनि दाबी गरिन्छ।
तर कालान्तरमा उनै प्रचण्डसँग उनको मिल्ती रहेन। सशस्त्र संघर्षकालमै पनि प्रचण्डले कहिले वैद्य, कहिल्यै डा. बाबुराम भट्टराईलाई प्रयोग गर्दै शक्तिको नेतृत्व आफ्नो हातमा राखिराख्न सफल भएका थिए।
२०६२÷६३ सालको जनआन्दोलन, शान्ति सम्झौता र गणतन्त्र स्थापनापछि प्रचण्डसँग उनको मतभिन्नता झन् चुलिँदै गएको थियो। प्रचण्डले लिएको नयाँ रणनीति उनलाई मन परेकै थिएन। सोही कारण उनले कहिल्यै पनि सत्तामा जाने चेष्टा गरेनन्।
पहिलो संविधान सभा निर्वाचन २०६४ पछि समानुपातिकमा संविधानसभा सदस्य बने पनि उनले ६ महिनामै राजीनामा दिएका थिए। प्रचण्डसँग वैचारिक मतभिन्नता बढ्दै गएपछि उनले २०६९ असारमा माओवादी छाडेर नेत्रविक्रम चन्द ‘विप्लव’सहित मिलेर नेकपा–माओवादी बनाए। २०७३ मा विप्लवले पनि उनको साथ छाडे। वैद्यले त्यसपछि नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी) पार्टी बनाएर आफू अध्यक्ष भए। गत वर्ष महाधिवेशनमा विधान संशोधन गरेर महासचिव प्रणाली अँगालेका थिए।
जीवनभर कम्युनिस्ट विचारधारामा अडिएर वैचारिक तहमा निष्ठाको राजनीति गरेका वैद्य अहिले भने स्वास्थ्यका कारण सुस्ताएका छन्। उमेरले पनि उत्तरार्धतिर लागेकाले कतिपयले अहिलेको पद त्यागलाई ‘राजनीतिक अवकाश’ पनि भनिरहेका छन्। तर, त्यसबारे उनले मुख खोलेका छैनन्।
प्रकाशित: २ कार्तिक २०८२ १७:१८ आइतबार





