हालै सम्पन्न निर्वाचनमा सर्लाही–४ बाट पराजित भएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई राजीनामा नदिन पार्टीका अग्रज नेता गोपालमान श्रेष्ठले आग्रह गरेका छन्।
चुनावमा असहयोग गर्ने पार्टीभित्रकै एक पक्षले सामाजिक सञ्जालमार्फत राजीनामाको दबाब दिइरहेका बेला नेता श्रेष्ठले खुलापत्र लेख्दै सभापति थापालाई नयाँ जनादेशअनुसार पार्टी संगठनमा लाग्न सुझाएका हुन्।
नैतिकताका आधारमा थापाले राजीनामा दिने चर्चा चलिरहेको समयमा श्रेष्ठले संकटको घडीमा पद छोड्नु पार्टी र देश दुवैको हितमा नहुने बताए।
पत्रमा श्रेष्ठले निर्वाचनको परिणाम अपेक्षाअनुसार नआए पनि लोकतन्त्रको रक्षा र राजनीतिक अस्थिरताको अन्त्य मुख्य विषय भएको औंल्याएका छन्।
उनले चुनावको नतिजालाई नेतृत्वको असफलता मात्र नभई जनताको परिवर्तनको चाहनाअनुरूप कांग्रेसलाई पूर्ण रूपान्तरण गर्न नसकिएको चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्।
पत्रमा लेखिएको छ, ‘अब निर्वाचनको सिकाइलाई आत्मसात गर्दै वडा तहदेखि गाउँ, नगर, क्षेत्र, जिल्ला र केन्द्रसम्म संगठन सुदृढीकरण गर्ने संकल्पका साथ अघि बढ्नु अपरिहार्य छ।’
नेता श्रेष्ठले थापाको साहस, दृष्टि र युवाहरूलाई प्रेरित गर्ने क्षमताले सिंगो पार्टी पंक्तिलाई अझै दृढ बनाएको उल्लेख गरेका छन्।
यस्तो बेला सबै कांग्रेसीजन एकढिक्का भएर नेतृत्वलाई साथ दिनुपर्ने आवश्यकता रहेको उन बताए। उनले भनेका छन्, ‘तपाईंको नेतृत्वमा हामीले नयाँ ऊर्जा, नयाँ आशा र नयाँ रूपान्तरणको बाटो देखिरहेका छौं। यस संकटको घडीमा तपाईंलाई पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै, हामी सबै मिलेर नेपाली कांग्रेसलाई रूपान्तरण गर्ने यात्रामा अगाडि बढ्ने प्रतिज्ञा गर्दछौं।’
प्रकाशित: २७ फाल्गुन २०८२ १६:४१ बुधबार





