१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

‘विध्वंस, ताेडफाेड भयाे भने सुरक्षाकर्मीले गोली चलाउने कि नचलाउने?’

नेकपा एमालेका अपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा ‘एयरलिफ्टिङ’ हुन्छ भन्ने कुरा कसैले पनि नभनेको बताएका छन्। ‘जेन-जी आन्दोलन अप्रिय स्थितितर्फ जान नपाओस्, त्यतातिर जान खोजे पहिले नै रोक्नू’ भनेर आफूले भनको उनले स्मरण गरे। ‘तोडफोड, विध्वंस, आगजनी हुने भयो भने सुरक्षा निकायले गोली चलाउने कि नचलाउने? यो आजको मात्रै कुरा होइन। सिद्धान्त प्रतिपादन गर्दा त भविष्यसम्मका लागि नै प्रतिपादन गर्नुपर्‍यो,’ ओलीले भने, ‘एउटा मात्रै इन्सिडेन्टका लागि होइन होला नि।’

उनले आफू प्रधानमन्त्री भएका बेला उपद्रवकारीहरूले उपद्रव मच्चाएको पनि बताए। ओलीले नागरिक फ्रन्टलाइनलका लागि नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा यस्तो बताएका हुन्। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

सुरक्षा निकायले तपाईंहरूलाई एयरलिफ्टिङ नै गर्नुपर्ने हुन्छ भनेर योजना पनि सुनाएका थिए रे नि?

एयरलिफ्टिङका कुरा कहाँबाट आए? त्यो त मैले आज तपाईंबाट सुन्दै छु। कसैले मसँग एयरलिफ्टिङका कुरा गरेकै छैन। किनभने भदौ २२ गते गोदावरीमा हाम्रो विधान महाधिवेशन थियो। बेलुका महाधिवेशनपछि मैले गृहमन्त्रीजीलाई फोन गरें। सुरक्षा समितिकै बैठक बसिराखेका छौं भन्नुभयो। त्यो सकेर बालुवाटारमा आउनुस्, मिटिङ गरौं भनें। म तीन दिनदेखि पार्टीको महाधिवेशनको काममा व्यस्त भए पनि अर्को दिनको कामबारे सोध्न गएँ।

त्यतिबेला उहाँले जेनजीका मुख्य माग बताउनुभएको थियो– शान्तिपूर्ण गर्छौं भनेका छन्, माइतीघर मण्डलाबाट एभरेस्टसम्म जान्छन्। जुलुस त्यहाँबाट सिद्धिन्छ। त्यसकारण हामीले धेरै ठुलो तयारी केही गर्नुपर्दैन। तैपनि अप्रिय स्थिति होला। कहिलेकहीं ठुलो तयारी नगर्दा अप्रिय स्थिति हुन सक्छ। अप्रिय स्थितितर्फ जान नपाओस्, त्यतातिर जान खोजे पहिले नै रोक्नू भनेर मैले भनेको थिएँ। त्यस्तो आउँदैन, त्यस्तो हुँदैन भनेर मलाई ब्रिफिङ गरिएको थियो। अनि कहाँ हेलिकोप्टर, एयरलिफ्टिङको कुरा आयो? त्यो कुरा थिएन तर ग्लोबल ट्रेन्ड त हामीले हेरिराख्या थियौं।

अनि कुनकुन शक्ति कसरी अस्थिरताका लागि क्रियाशील छन्। अराजकताको पक्षमा को लागिराख्या छ, कस्तो गरिराखेका छन्। कसको स्वार्थ के छ भन्ने कुराको पनि हामी अनुमान गरिरहेका थियौं। कुनै पनि परिस्थिति बिगार्न, भड्काउन खोज्ने कुरा हुन सक्छ भन्ने कुरा त अन्यत्र हामीले देखेकै थियौं। त्यही कुराको बारेमा कहिलेकहीँ छलफल, सल्लाह हुन्थ्यो। त्यो स्वाभाविक कुरा थियो तर त्यो रोक्न सकिँदैन, केही भएपछि हामी छोडिदिन्छौं भन्ने कुरा कसैले भनेको थिएन। केही हुन थालेपछि आगलागी गर्न दिन्छौं त कसैले भनेको थिएन तर आगलागी त भयो। तोडफोड, लुटपाट भयो।

राज्य संयन्त्र प्यारालाइज भएर बस्यो। चुपचाप लागेर बस्यो। दुःखद कुरा त्यहीनिर हो। सुरक्षा संयन्त्रहरूको परिचालनमा कमी कहाँ भयो? के कमी भयो? त्यसलाई सानो छँदैखेरि किन रोक्न सकिएन? अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पनि मान्छे भित्रै पस्ने स्थिति किन बन्यो? यी कुराहरू छन्। त्यसपछि बेलुकाबाट कफ्र्यु लगाउन सकिन्थ्यो। सेना सडकमा उत्रिन सक्थ्यो।

सेनासहितको सुरक्षा निकायहरू परिचालित हुने कुरा २३ गते राति नै तयारी भएको थियो रे तर भोलिपल्ट परिचालन भएको त देखिएन नि?

भदौ २३ गते राति ११ बजेबाट परिचालन गर्ने भन्ने थियो। २३ गतेका लागि त त्यस्तो भएन किनभने त्यस्तो हुन्छ भन्ने कसैले पनि सोचेकै थिएन। मैले सेक्युरिटी निकायहरूसँग पनि सोधेको थिएँ। त्यहाँ मैले बोलाएको ठाउँमा सेनाका एक जर्नेल, गृहमन्त्री र मुख्य सचिव हुनुहुन्थ्यो। अरू तीन वटै निकायका प्रमुखहरू हुनुहुन्थ्यो। अहिले आएर प्रतिशोधात्मक खालका क्रियाकलाप हुन थालेको देखिन्छ। जो जागिरबाट हट्छ, त्यसलाई घरबाट बाहिर निस्किन नपाउने वा कति मिटर परसम्म जान पाउने, कुन बाटोसम्म जान पाउने, कुन डाँडो काट्न नपाउने भन्ने कुराहरू भन्न थालिएको छ। त्यसमा अचम्मको प्रतिशोध देखिन्छ।

सुरक्षा कायम गर्न खोज्नेहरूमाथि नै प्रतिशोध लिन खोजिएको देखिन्छ। प्रहरीमाथि किन एक्सन लिन खोजिराखिएको छ? वा त्योसँग वैरभाव किन देखाइँदै छ? अर्को, के नेपालमा सेना, प्रहरी, अनुसन्धान विभाग चाहिँदैन भनेको हो? होइन भने मान्छेको ज्यानको मूल्यमा संरचनाहरूको सुरक्षा गर्न सकिँदैन भने सेना विभिन्न ठाउँमा संरचनाहरूको सुरक्षाका लागि बसेको छ त, त्यो के त्यहाँ मुसा आएर प्वाल पार्छ भनेर बसेको हो?

सुरक्षाको जिम्मा पाएको ठाउँमा हिंसात्मक ढंगले आइलाग्यो भने अनियन्त्रित ढंगले आइलाग्यो भने, तोडफोड, विध्वंस, आगजनी हुने भयो भने सुरक्षा निकायले गोली चलाउने कि नचलाउने? यो आजको मात्रै कुरा होइन। सिद्धान्त प्रतिपादन गर्दा त भविष्यसम्मका लागि नै प्रतिपादन गर्नुपर्‍यो। एउटा मात्रै इन्सिडेन्टका लागि होइन। भविष्यसम्मका सम्भावित अनेक इन्सिडेन्ट होलान् नि। एकछिनका लागि एकछिनको कुरो हुँदैन। त्यो त राष्ट्रिय नीति र व्यवहारमा उत्रिने खालको व्यावहारिक नीति, जसलाई हामी प्रयोगमा ल्याउँछौं। त्यो नीतिको कुरा हुनुपर्‍यो नि।

पछिल्लो समय प्रधानमन्त्री भएपछि सुरुदेखि नै सार्वजनिक कार्यक्रममा जाँदा तपाईंविरुद्ध विभिन्न ठाउँमा विरोध सुनिन्थ्यो। त्यो खालको माहोल बनाउन खोजिएको थियो भन्ने लाग्छ?

हो, अवश्य हो। त्यसो गर्न खोजिएको थियो। मलाई खेलाडीहरूले मन पराएर बोलाउँथे, दर्शकहरूले मन पराए। खेलकुदका संस्थाहरूले मन पराए, किनभने म खेल मन पराउँछु, खेलाडी मन पराउँछु उनीहरूलाई प्रोत्साहित गर्छु। त्यसकारण उनीहरूले मलाई मन पराउनु स्वाभाविक थियो। मन पराए। मैले कुनै खेलाडी अहिलेका जस्ता देखिस् तेरो देश चल्यो भनेर खुसी भएका, रमाएका, पागलपनका साथ कराएका योभन्दा अगाडि देखेको थिएन। मबिना अपवाद हरेक खेलाडीलाई माया गर्थे। हरेक कलाकारलाई माया गर्थे। मैले वास्तवमा माया गर्थे। खेलाडी र दर्शकहरूले पनि मेरो पक्षमा नारा लगाउँथे। त्यो कुरासँग केही तत्त्वहरूलाई असह्य भयो। उनीहरूले अभियान चलाए। कल्चरल प्रोग्रामहरूमा जाँदा पनि त्यो अभियान देखियो। त्यो अभियान टुँडिखेलको गौरा पर्वमा पनि देखियो।

तत्कालीन माओवादी केन्द्र पनि ईर्ष्यालु भएर आफ्नो सारा समय मलाई गाली गर्नमै खर्च गर्थ्याे। ममाथि झुटा लाञ्छना र आरोप लगाउनै खर्च गर्थे। म प्रधानमन्त्री भएका बेला उपद्रवकारीहरूले उपद्रव मच्चाएकै हुन्। त्यहाँ गोली चलेकै हो। कसले गोली चलायो म जान्दिनँ, न मैले गोली चलाउने मान्छे चिन्या छु? पुलिसले चलायो कि बाहिरैबाट चल्यो कि वा अरू नै कुनै घुसपैठियाले चलायो कि? कसले चलायो मलाई थाहा भएन। त्यो जान्नेले जान्लान्। आफूले चलाएको वा आफ्नो टोलीले चलाएको हो भनेर कसैले भनेको मैले सुन्या पनि छैन। सम्भवतः पुलिसले चलायो कि! उसलाई त अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सुरक्षाको जिम्मा दिइएको छ। त्यो सुरक्षाका लागि गोलीसहितको बन्दुक दिइएको छ।

यो पनि पढ्नुहोस्

मेरो घरमा आगो लगाएर बनेको सरकार होइन यो?

प्रकाशित: १० मंसिर २०८२ ०७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App