प्रतिनिधि सभा निर्वाचनमा म्याग्दीबाट उम्मेदवार बनेका निवर्तमान शिक्षामन्त्री महाविर पुनले आफ्नो विरोध गर्नेदेखि रिस उठ्न थालेको बताएका छन् ।
उम्मेदवार बनेपछि पनि आफ्नो किताब बेच्दै गरेका उनलाई निर्वाचन आयोगले खबरदारी गरेको थियो। आयोगलाई म्याग्दीकै आफ्ना विरोधीले उजुरी गरेको बताउँदै वीरगञ्जको औजार कारखानालाई सहयोग गर्न बेचेको पुस्तकका बारेमा गरिएको टिप्पणीले आफूलाई रिस उठेको पुनले बताए ।
म्याग्दीमा मतदातासँगको छलफलका क्रममा उनले भने, ‘भगवानलाई त रिस उठ्छ । म त मान्छे मलाई रिस उठ्दैन । आफ्नै लागि गरेको कामको पनि विरोध गर्ने हो ? उहीले भगवान शिवजीले सतीदेवीको लास बोकेर संसार घुम्दा केही भएन । मैले त त्यसो गरेको होइन नि । किताब बोकेर घुमेको त हो ।’
प्रकाशित: १० माघ २०८२ १५:४६ शनिबार





