नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राइले असंवैधानिक सरकारविरुद्ध आन्दोलनको आधीबेहरी ल्याउने चेतावनी दिएका छन् ।
बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै राइले कार्तिक २५ गतेसम्म पार्टीले आन्तरिक तयारी गर्ने र २५ गते पछाडि प्रदेश राजधानी विराटनगर लगायत प्रदेशभरी ठुला ठुला आन्दोलनका कार्यक्रम गर्ने जानकारी दिए ।
राईले अहिलेको सरकार परिवर्तन नगरेसम्म आन्दोलन जारी रहने बताए । उनले भने, ‘कार्तिक २५ गतेदेखि एमालेले २३ वटै भातृसंगठनहरू परिचालन गर्दैछौं । अहिलेको प्रतिगमनकारी सरकार नहटेसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’
राईले अहिलेको सरकारले चुनाव गराउनै नसक्ने ठोकुवा गर्दै हुँदैनहुने चुनावमा एमाले नअलमलिने बताए ।
राईले २०४६ सालदेखि लाभका पदमा बसेकाको सम्पत्ति छानविन गर्न एमाले तयार रहेको भन्दै कोशी प्रदेशमा आफूबाटै छानविन थाल्न आग्रह गरे ।
राईले भने ‘संघीय मन्त्रीदेखि कोशी प्रदेशको मुख्यमन्त्रीसम्म बनिसकेका कारण मबाटै सम्पत्ति छानविन थाल्न आग्रह गर्दछु ।’
राईले भदौ २३ र २४ गतेको घटना लामो तयारी पछि गरिएको सुनियोजित आक्रमण भएको बताए । उनले विद्यार्थीलाई देखाएर सुनियोजित रुपमा देशमाथि हमला गरिएको दाबी गरे । राईले भदौ २३ र २४ गतेको घटनाका विषयमा निष्पक्ष छानविन गर्न आगोग गठन हुनुपर्ने बताए ।
अहिलेको सरकारले गठन गरेको आयोगले निष्पक्ष छानविन नगर्ने र यो आयोगलाई एमालेले नमान्ने राईले बताए ।
प्रकाशित: १२ कार्तिक २०८२ १४:५९ बुधबार





