२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

शेरबहादुर देउवाको सम्पत्ति छानबिन हुन्छ: सभापति थापा

फाइल तस्वीर

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस नेतृत्वमा सरकार बनेपछि सबैभन्दा पहिले शेरबहादुर देउवाको सम्पत्ति छानबिन गर्ने बताएका छन्।

कांग्रेस कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। देउवा नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पाँच पटक प्रधानमन्त्री भइसकेका छन्। २०४६ सालपछि उच्च ओहोदामा पुगेका सबैको एकएक छानबिन गर्ने बताउँदै उनले भने, ‘सबैभन्दा पहिला पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्ति छानबिन गरिनेछ। मन्त्री भएको गगन थापाको सम्पत्ति छानबिन हुन्छ।’

सभापति थापाले देशले भ्रष्टाचारबाट मुक्ति चाहेको बताए। त्यसबाट मुक्ति दिलाउने संकल्प कांग्रेसले गरेको उनको भनाइ थियो। बदलिएर आएको नयाँ कांग्रेस हो यो,’ उनले भने, ‘कांग्रेस भ्रष्टाचारबाट देशलाई मुक्ति दिलाउने संकल्प गरेर आएको छ।’

सभापति थापाले चुनावले दुई अतिवादलाई प्रश्रय दिन सक्ने आशंका व्यक्त गरे। यो देशका लागि खतरनाक हुने उनको भनाइ थियो। भदौ २३ गतेअघि सबै ठिकठाक थियो भन्ने र भदौ २४ गते देश जलाउने र जेलबाट भाग्ने दुवै अतिवाद भएको उनको भनाइ थियो। ‘यी दुई अतिवादको हातमा जानु देशका लागि खतरनाक हुन्छ,’ उनले भने, ‘एउटा अतिवाद भदौ २३ गतेअघि देश ठिकठाक थियो भन्छ। भदौ २३ गतेको घटनालाई आकस्मिक दुर्घटना मात्रै मान्छ। अर्कोतर्फ त्यही घटनालाई मौका छोपेर सिंहदरबार जलाउन पनि लगाउँछ र जेलबाट पनि भाग्छ। यो दुवै अतिवाद हो र यो देशका लागि खतरनाक छ।’ त्यसैले यी दुई अतिवादका बिचबाट देशलाई सम्हाल्नुपर्ने अवस्थामा देश रहेको उनले बताए।

‘भोलि पनि यो अतिवाद आउन सक्छ,’ उनले भने, ‘अबको पाँच वर्षको यो समय देशलाई सम्हाल्नुपर्ने छ। कुनै पनि खालको द्वन्द्व अब नेपालले खेप्न सक्दैन। न जातीय न धार्मिक। न सहर–गाउँ न मधेस–पहाड। त्यो कांग्रेसले सम्हाल्छ।’ सभापति थापाले रास्वपाले बिनाअनुभव र जानकारी देश दौडाउने कुरा गरिरहेको आरोप लगाए। रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहप्रति इंगित गर्दै उनले भने, ‘कोही भन्दै छ– म यति अद्भूत मान्छे हुँ कि गाडी आफैं गन्तव्यमा पुग्छ। अर्को मान्छे भन्दैछ– म यस्तो अद्भूत क्षमता भएको मान्छे हुँ कि मैले चलाएपछि गाडी उड्छ।’ यस्तो अवस्थाबाट देश दुर्घटनामा पर्ने बताउँदै उनले भने, ‘बिनाअनुभव सवारी दौडाउने भनिरहेको छ। यो असम्भव छ। त्यसैले हामी भनिरहेका छौं कि कुनै एक जनाले मात्रै गाडी चलाउने होइन। हामी सबै एउटै गाडीमा बस्ने हो। गाडी चलाउनेले पनि सबैको कुरा सुनेर चलाउने हो।’

सभापति थापाले कांग्रेस नेतृत्वमा अबको पाँच वर्ष देशलाई वेगसँग दौडाउने बताए। तर वेगसँगै दौडाए पनि सम्हालेर चलाउने उनको भनाइ थियो। सभापति थापाले कांग्रेस कार्यकर्तालाई एकबराबरको १० जना मतदाता आफ्नो पक्षमा पार्न निर्देशन दिए। बदलिएर आएको कांग्रेसले देश बदल्ने बताउँदै उनले भने, ‘यतिले मात्रै चुनाव जितिँदैन। चुनाव जित्न एक जना बराबर १० जना मतदाताकोमा पुग्नुस्, कांग्रेसलाई चिनाउनुस् र बुझाउनुस्।’ कांग्रेस उपसभापति विश्वप्रकाश लामिछानेले भदौ २३ गतेअघि देशमा सब ठिकठाक थियो भन्नु र केही पनि भएन भन्नु दुवै गलत भएको बताए।

देशलाई सम्हाल्ने तागत कांग्रेसमा मात्र रहेको र त्यो बदलिएको कांग्रेसले गर्ने उनको भनाइ थियो। यसैबिच सहकारीपीडितहरुले सभापति थापालाई ज्ञापनपत्र बुझाएका छन्। पोखराको चुनावी सभामा आएको मौका पारेर सहकारी पीडित संघर्ष समितिले थापालाई सहकारीको अपचलित रकम फिर्तालगायत माग रहेको ज्ञापनपत्र बुझाएका हुन्।

प्रकाशित: १६ फाल्गुन २०८२ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App