नेपाली कांग्रेसका नेता नैनसिंह महरले वर्तमान राजनीतिक परिस्थितिमा देशले पुनः नेपाली कांग्रेसको नेतृत्व र भरोसा खोजिरहेको बताएका छन्। उनले आइतबार आयोजित ‘देश र कांग्रेस जोड्ने अभियान’ कार्यक्रममा बोल्दै कांग्रेसले जनताको विश्वास पुनः मजबुत बनाउन आन्तरिक एकता, संवाद र आत्मालोचनाको बाटो अपनाउनुपर्ने बताए।
महरले नेपाली कांग्रेस जनताबाट स्थापित भएको पार्टी भएकाले जनताको अपेक्षा पूरा गर्न पार्टी एकढिक्का भएर अघि बढ्नुपर्ने बताए। ‘जतिबेला देशको राष्ट्रियतामाथि चुनौती आउँछ, त्यतिबेला नेपाली जनताले नेपाली कांग्रेसको भरोसा खोज्ने गरेका छन्। कांग्रेस जनताको पार्टी भएकाले जनताको विश्वासअनुसार अघि बढ्नुपर्छ,’ उनले भने।
उनले देशभर पार्टीभित्र संवाद बढाउन, शुभेच्छुक, कार्यकर्ता तथा नेताहरूबीच एकीकृत आवाज निर्माण गर्न आवश्यक रहेको भन्दै पार्टीले जनतासँगको सम्बन्ध थप मजबुत बनाउन आत्मालोचना गर्दै सुधारका कार्यक्रम अघि बढाउनुपर्ने बताए।
महरले कांग्रेसभित्र देखिएका मतभेदलाई विधान र लोकतान्त्रिक प्रक्रियाअनुसार समाधान गर्नुपर्ने भन्दै संस्थापन पक्षले सबै समूहलाई समेट्ने वातावरण बनाउनुपर्ने र निर्वाचन समिति, अनुशासन समिति, सदस्यता छानबिन समितिलगायत महत्वपूर्ण संरचनामा सर्वसम्मत सहभागिताको परम्परा कायम गर्न आग्रह गरे।
प्रकाशित: १७ श्रावण २०८३ १२:१३ आइतबार





