नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा भएको गडबडीका विषयमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । आइतबार गुराँस पुस्तकालय विराटनगरको स्थापना दिवसका अवसरमा विराटनगरमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गदै यस्तो आक्रोश व्यक्त गरेका हुन् ।
नेता कोइरालाले विधेयकमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले हस्ताक्षर गरेकाले विवाद आएपछि नैतिकताका आधारमा राजीनामा दिनु पर्नेमा नदिएको बताए । कोइरालाले सभापति खतिवडा प्रति आक्रोशित हुँदै नैतिकता नहुनेले राजनीति नगर्दा हुने बताए । ‘नैतिकता छैन भने राजनीति नगरे हुन्छ’ उनले भने ‘राज्य व्यवस्था समितिको सभापति छाड्दैमा राजनीति सकिँदैन ।’ डा कोइरालाले कांग्रेस सरकारमा सहभागी भए पनि अहिलेको सरकार जबाफदेही, पारदर्शी र जनता प्रति उत्तरदायी नभएको आरोप लगाए ।
उनले यो सरकारले प्रेसलाई अङ्कुश लगाउन खोजिरहेको भन्दै प्रेसलाई अङ्कुश लगाउने विषय मान्य नभएको स्पष्ट पारे। डा कोइरालाले सामाजिक सञ्जालमा लेख्दासमेत मुद्दा लाग्ने अवस्था रहेको बताए । उनले मुद्दा लगाउने, प्रहरी लगाएर पक्राउ गरेपछि बोल्नेहरूको बोली बन्द गर्न सकिन्छ भन्ने सरकारको सोचाई रहेको बताए । कोइरालाले विराटनगरलाई राजनीतिक आन्दोलनको स्थलका रुपमा स्थापित गर्न फेरि लाग्नु पर्ने अवस्था आएको बताए । उनले भ्रष्टाचार, दण्डहीनता, विरुद्ध आवाज उठाउन विराटनगरवासीलाई आग्रह गरे । कोइरालाले यति वेला प्रजातन्त्र धरापमा परेको, कांग्रेसको विचार र सिद्धान्त धरापमा परेको स्पष्ट पारे ।
संविधानमा भएको निर्वाचन पद्धतिका कारण कुनै पार्टीको पनि बहुमत नआउने अवस्था रहेको जसका कारण जहिलै पनि मिलीजुली सरकारमै जानुपर्ने बाध्यता रहेको कोइराले बताए । उनले सरकार बनाउने नाममा कांग्रेसले सबै कुरा छाड्दै गएको टिप्पणी गरे । उनले अहिले दलका नेताहरूमा सरकारमा जाने सोच मात्रै देखिएको बताए । १० वर्षमा कस्तो नेपाल बनाउने भन्ने सोच कसैसँग नभएको खाली सरकार बदल्ने, कसरी सरकारमा पुग्ने भन्ने सोच मात्रै देखिएको कोइरालाको भनाई छ । कोइरालाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामासमेत अहिले समस्या देखिन थालेको बताए । कार्यक्रममा यो वर्षको मुक्तिप्रसाद–यदुनाथ चापागाईँ सम्मानबाट राजनीति तर्फ २१ हजार रुपैयाँ राशीको नगद सहित हरि सापकोटा सम्मानित भएका छन् । यस्तै ११ हजाराै रुपैयाँ राशि नगदसहित समाजसेवा तर्फ मो करिमलाई सम्मान गरिएको छ । यस्तै प्रतिभातर्फ डा प्रमिला गच्छदारलाई सम्मानित गरिएको छ।
प्रकाशित: १८ श्रावण २०८२ १७:१६ आइतबार





