नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन रोक्दै मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्न आग्रह गरेका छन्।
आज जारी प्रेस वक्तव्यमार्फत कोइरालाले यस्तो आग्रह गरेका हुन्। उनले कांग्रेसको आन्तरिक जीवनमा आएको विभाजनप्रति आफू पीडित भएको उल्लेख गर्दै पार्टी एकढिक्का भएर राष्ट्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।
उनले कांग्रेसको आसन्न दुई महाधिवेशनले नेपालको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पुग्न सक्ने भन्दै त्यसलाई रोक्नुपर्ने भनाइ राखे। ‘मध्यमार्ग कठिन मार्ग भए पनि यही सत्यको बाटो र कांग्रेसको मार्ग हो,’ उनले भनेका छन्।
कोइरालाले प्राकृतिक विपत्तिबाट रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको जनधनको क्षतिप्रति कांग्रेस संवेदनशील बन्न नसकेको भन्दै प्रश्नसमेत गरे। चाडपर्वको मुखमा परिवारका सदस्य तथा आफन्त गुमाएका नागरिकको पीडा बुझ्दै पार्टीले सहमति, सहकार्य र एकताबद्ध भएर उनीहरूको घाउमा मल्हम लगाउनुपर्ने उनको भनाइ छ।
उनले कांग्रेसको इतिहास त्याग, संघर्ष, बलिदान, निष्ठा, आदर्श र नैतिक शक्तिमा आधारित रहेको स्मरण गर्दै अहिले पार्टी विभाजित र दिशाहीनजस्तो देखिएको बताएका छन्। ‘कांग्रेसमा कोही हार्ने र कोही जित्ने अनि विजयी कांग्रेस भन्दै उत्सव मनाउन सकिँदैन,’ कोइरालाले भने, ‘यो कांग्रेसको संस्कार र संस्कृति भन्दा भिन्न कुरा हो।’
उनले आफू कसैप्रति आरोप–प्रत्यारोप गर्न नचाहेको स्पष्ट गर्दै पार्टीको सफलता सबैको एकताबद्ध प्रयासबाट मात्रै सम्भव हुने बताएका छन्।
कोइरालाले कांग्रेस कार्यकर्ताको विवेक मरेको आफूले विश्वास नगरेको भन्दै ‘हामी उठ्छौं, जुट्छौं र जित्छौं’ भन्ने विश्वास व्यक्त गरेका छन्। पार्टीलाई एकताबद्ध राख्ने अभियानमा गाउँ–टोलदेखि केन्द्र र विदेशमा रहेका कांग्रेसका नेता–कार्यकर्तालाई दृढ संकल्पका साथ जुट्न पनि उनले आग्रह गरे।
प्रेस वक्तव्य:
प्रिय साथीहरू,
जय नेपाल।
अत्यन्त गम्भीरतापूर्वक साथीहरू माझ म पत्रमार्फत वर्तमान देशको अवस्था र नेपाली कांग्रेसको आन्तरिक जीवनमा आएको विभाजनबारे आफ्नो विचार संक्षिप्तमा राख्न गइरहेको छु।
साथीहरू,
कुनै पनि राष्ट्रको जीवनमा अनेकन् उतार–चढाव र सफलता–विफलता आउँछन्। नेतृत्वले समझदारीपूर्वक सहमति र सहकार्यबाट अगाडि बढे राष्ट्र जोगिन्छ, नत्र कैयौँ राष्ट्रले आफ्नो अस्तित्व गुमाएको इतिहास हामी सबैलाई विदितै छ। नेपाल आज त्यही चौबाटोमा उभिएको छ। मुलुकको भविष्य र अस्तित्व कहाँ पुग्ने हो भन्ने चिन्ता सिर्जना भएको छ।
हामी नेपाली एकाकार भएकै कारण कहिल्यै कसैको अधीनमा बस्नु नपरेको गौरवशाली इतिहास निर्माण गर्न सकेका छौँ। त्यस्तै नेपाली कांग्रेसको पनि आफ्नै गौरवशाली इतिहास छ।
कांग्रेसले कहिल्यै कसैको गोटी भएर देशको स्वाधीनता र लोकतन्त्रसँग सम्झौता गर्न चाहेन। पद, प्रतिष्ठा र प्रलोभनमा नपरी विगतमा हाम्रा संस्थापक नेताहरूले हामीलाई निष्ठा, आदर्श र नैतिक शक्तिसहितको कांग्रेस छाडेर गएका छन्। यसको इतिहास संघर्ष, त्याग र बलिदानले मात्र भरिएको छैन, नेपाललाई आधुनिक राष्ट्र बनाउन र नागरिकको सर्वोच्चता कायम गर्न गरेको कार्य हामी सबैका लागि प्रेरणादायक छ।
सबैका प्रणेता र मूर्धन्य नेता बीपी कोइरालालगायत यस पार्टीका संस्थापक नेताहरूको राजनीतिक, नैतिक, सामाजिक र सांस्कृतिक जीवनदर्शनले सदासर्वदा हामी तमाम कांग्रेसजनका लागि मात्र होइन, सम्पूर्ण नेपाली जनतालाई गौरवान्वित बनाइरहने छ।
दुःखका साथ भन्नुपर्छ, यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट, कसले, कसरी लेखिरहेका छन्, मलाई थाहा छैन। मलाई यसबाट पीडा छ र मेरो पीडासँग तमाम कार्यकर्ता साथीहरूको भावना जोडिएको छ, जो कांग्रेस एकढिक्का भएर राष्ट्र निर्माणमा यो पार्टीको नेतृत्वदायी भूमिका होस् भन्ने चाहन्छन्।
मेरो पीडा कांग्रेसको आसन्न घोषित दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो। यो रोकौँ, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौँ। मेरो प्रयत्न विगतमा पनि र अहिले पनि यसैमा केन्द्रित छ र रहनेछ। हामी जो आफूलाई कांग्रेस भन्छौँ र कांग्रेस हुनुमा गौरव पनि अनुभव गर्छौं, किमार्थ पनि मानसिक रूपमा यति कमजोर र निरीह नहुनुपर्ने हो, जति आज छौँ। हामीले विरासतमा पाएको कांग्रेस क्यानभास चमकदार मात्र थिएन, अजेय पनि थियो। दुःखका साथ भन्नुपर्छ, आज हामी न अजेय छौँ, न विजय नै छौँ। हामी विभाजित, विघटनकारी र समुद्रमा गन्तव्य हराएको माझीजस्तै भएका छौँ।
हामी किन यस्तो छौँ? किन हामीलाई रसुवा, नुवाकोट, धादिङलगायत स्थानमा भएको विपत्तिले पीडा दिँदैन? किन हामी आज प्राकृतिक प्रकोपका कारण अभाव र वञ्चनामा परेका र जीवन गुमाएकाहरूसँग संवेदनशील हुन सक्दैनौँ? नेपाली जनता रोइरहेका छन्, सर्वसाधारणहरू चाडपर्वको मुखमा परिवारका सदस्य र आफन्त गुमाएर चेतनाशून्य भएर बसेका छन्। उनीहरूको दर्द र पीडा किन हामी बुझ्न सकिरहेका छैनौँ? हामी के गर्दैछौँ? हामी किन कानुन र विधानका धाराहरूबाट बाध्यझैँ पारिएर मानवीय संवेदनासँग खेलवाड गर्दैछौँ?
किन सहमति, सहकार्य र एकताबद्ध भएर चहराइरहेको घाउको मलम बन्न हामी सकिरहेका छैनौँ र कांग्रेस यसरी आफ्नो राष्ट्रिय दायित्वबाट विमुख भइरहँदा भावी पुस्तालाई कसरी आफूसँग जोड्न सक्छौँ?
मैले मेरा परिवेश, पृष्ठभूमि र प्रशिक्षणबाट सिकेका न्यूनतम मान्यताहरूबाट कांग्रेस विचलित हुँदा स्वाभाविक छ, मेरो मन पनि उद्वेलित हुन जान्छ। म कांग्रेस विभाजनबाट रोमाञ्चित हुनै सक्दिनँ। म को ठीक, को बेठीक भनेर वकालत कसरी गर्न सक्छु? कांग्रेस हुँ भन्ने तर आफ्नै साथीभाइमाथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महलमाथि म बस्न सक्दिनँ। कांग्रेसमा कोही हार्ने र कोही जित्ने अनि विजयी कांग्रेस हुँ भनेर कसरी उत्सव मनाउन सकिन्छ होला? यो कांग्रेसको संस्कार र संस्कृतिभन्दा भिन्न कुरा हो, मेरो चेतनाको कांग्रेस पाठशाला पृथक छ।
विश्व राजनीतिको गहिरो प्रभाव नेपालमा परिरहेको सन्दर्भमा म कांग्रेस नेता बीपी कोइरालालाई स्मरण गर्न पुग्दछु र सोच्छु, आफ्नो ज्यानको प्रवाह नगरी यो देशको अस्मिता जोगाउने ती महामानवलाई साक्षी राखेर हामी किन एकताबद्ध हुन नसकेको होला।
मलाई थाहा छ, मध्यमार्ग कठिन मार्ग हो, मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो। यही मार्ग कांग्रेसको मार्ग हो र यही मार्ग कांग्रेसको जीवनदर्शन हो। म आरोपित भएर, भइरहेको पनि छु, कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्ने कांग्रेस सिपाही हुँ।
साथीहरू,
म कसैप्रति आरोप–प्रत्यारोप गर्न चाहन्नँ। हामी सफल हुन्छौँ भने सबैको एकताबद्ध प्रयत्नबाट मात्र यो सम्भव छ। हाम्रो विवेक मरेको छ भन्ने कुरामा म किमार्थ विश्वास गर्दिनँ। हामी उठ्छौँ, जुट्छौँ र जित्छौँ।
यही भरोसा र विश्वासबाट साधारणभन्दा साधारण कांग्रेस पनि असाधारण र राष्ट्र निर्माणमा जुट्न सक्छ। यस अभियानमा म गाउँ–टोलदेखि केन्द्र हुँदै विदेशसम्म बस्ने साथीहरूलाई पार्टीलाई एकताबद्ध राख्न दृढ संकल्पका साथ यस अभियान (पार्टी एकता) मा जुट्न हार्दिक अनुरोध गर्दछु। कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई म फरक रूपमा बुझ्न सक्दिनँ। म यस्तै र यिनै संवाद लिएर कांग्रेस एकतामा जुटिरहने छु, तपाईँहरूसँग भेट्न गाउँघर आइरहने छु।
जय नेपाल।
मिति : असोज १, २०८३
प्रकाशित: १ आश्विन २०८३ १४:०१ बिहीबार




-600x400.jpg)
