सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रणका क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउँदै यसको व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सकिने बताएका छन्।
सूचना तथा सञ्चार मन्त्रालयमा बिहीबार आयोजित सुरक्षण मुद्रणसम्बन्धी विज्ञहरूको अनुभव आदानप्रदान कार्यक्रममा उनले नेपालमा आवश्यक सुरक्षणयुक्त कागजात तथा सामग्री स्वदेशमै उत्पादन गर्ने गरी सुरक्षण मुद्रण केन्द्रलाई सक्षम र व्यावसायिक बनाउनुपर्नेमा जोड दिए।
सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यावसायिक कारोबार गर्न सक्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय यसअघि नै गरिसकेको छ।
उक्त निर्णयपछि केन्द्रलाई सरकारी आवश्यकताका सुरक्षणयुक्त सामग्री उत्पादन गर्ने निकायका रूपमा मात्र नभई व्यावसायिक रूपमा सञ्चालन गर्ने र यसको सेवा तथा उत्पादनलाई बाह्य बजारसम्म विस्तार गर्ने सम्भावनाबारे आजको छलफल केन्द्रित थियो।
सञ्चारमन्त्री तिमिल्सिनाले नेपालले सुरक्षण मुद्रणका लागि आवश्यक प्रविधि, जनशक्ति र पूर्वाधार विकास गर्दै क्रमशः आत्मनिर्भर बन्नुपर्ने बताए।
उनले देशभित्रै उत्पादन गर्न सकिने सुरक्षणयुक्त कागजात तथा सामग्रीका लागि विदेशमा निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्दै केन्द्रलाई प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्ने धारणा राखे।
सुरक्षण मुद्रणलाई सरकारी काममा सीमित नराखी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने उद्योगका रूपमा विकास गर्ने सम्भावनालाई समेत ध्यानमा राखी त्यसका लागि अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने प्रविधि, गुणस्तर, सुरक्षा प्रणाली र दक्ष जनशक्तिको विकास महत्वपूर्ण हुने उनले बताए।
कार्यक्रममा विज्ञहरूले अन्तर्राष्ट्रिय बजारमा नेपालको सुरक्षण मुद्रणको वर्तमान अवस्था, प्रयोगमा रहेका प्रविधि, सुरक्षा मापदण्ड तथा अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न सकिने सम्भावनाबारे आफ्ना अनुभव प्रस्तुत गरेका थिए।
बैंक नोट, राहदानी, परिचयपत्र तथा राजस्वसम्बन्धी कागजातको सुरक्षण मुद्रणमा लामो अन्तर्राष्ट्रिय अनुभव भएका तादेज जे. टर्कले सुरक्षण मुद्रणको प्रविधि र अन्तर्राष्ट्रिय अभ्यासबारे अनुभव साझा गरे।
सुरक्षण डिजाइनसम्बन्धी विज्ञ तथा प्रशिक्षक क्यामिला स्मिडले सुरक्षण डिजाइन, नक्कली कागजात नियन्त्रण तथा डिजाइनमा अपनाउनुपर्ने सुरक्षा उपायबारे जानकारी दिइन्।
त्यस्तै, प्रमाणीकरण तथा अन्तर्राष्ट्रिय साझेदारीसम्बन्धी विज्ञ लास्लो वर्गाले प्रमाणीकरण, अन्तर्राष्ट्रिय सहकार्य तथा बजार विस्तारका विषयमा अनुभव प्रस्तुत गरेका थिए।
प्रकाशित: १ आश्विन २०८३ १५:१० बिहीबार





