२६ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

गगनलाई शशांकको चेतावनी : महाधिवेशन गतिविधि अगाडी बढाए अपहेलनाको मुद्दा हाल्छु

नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारीलाई लिएर विवाद चर्किएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सभापति गगन थापासहित पार्टी नेतृत्वलाई पत्र पठाउँदै सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सबै गतिविधि रोक्न आग्रह गरेका छन्।

कोइरालाले मंगलबार कांग्रेस केन्द्रीय कार्यसमितिलाई पठाएको तीनबुँदे पत्रमा पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको विषयलाई आधार बनाएका छन्।

उनले अदालतबाट मुद्दाको अन्तिम टुंगो नलागेसम्म १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित सांगठनिक, प्राविधिक तथा नीतिगत गतिविधि स्थगित गर्न माग गरेका छन्।

‘अन्तिम फैसला नआएसम्म दीर्घकालीन निर्णय नगर्नू’

कोइरालाले अदालतको अन्तिम फैसला नआएसम्म पार्टीका तर्फबाट दीर्घकालीन प्रभाव पार्ने कुनै पनि राजनीतिक, सांगठनिक, नीतिगत वा आर्थिक निर्णय नगर्न नेतृत्वलाई सचेत गराएका छन्।

उनका अनुसार अहिलेको अवस्था कानुनी तथा नीतिगत संक्रमणको रहेको भन्दै थप जटिलता सिर्जना हुने गरी पार्टी गतिविधि अघि बढाउनु उचित हुँदैन।

महाधिवेशन अघि बढाए अपहेलनाको मुद्दा ?

पत्रमा कोइरालाले सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई असर पार्ने गरी कुनै गतिविधि नगर्नसमेत चेतावनी दिएका छन्।

अदालतको अन्तिम निर्णयअघि महाधिवेशनलगायतका गतिविधि अघि बढाइए त्यसले अदालतको अपहेलना वा अन्य कानुनी प्रतिकूलता सिर्जना गर्न सक्ने उनको चेतावनी छ। त्यस्तो अवस्था आए सम्बन्धित पक्ष नै जिम्मेवार हुनेसमेत पत्रमा उल्लेख गरिएको छ।

कोइरालाले अदालतको गरिमा र कानुनी प्रक्रियाको सम्मान गर्दै अन्तिम फैसला नआएसम्म पार्टीका सांगठनिक संरचनालाई साविककै अवस्थामा राख्न आग्रह गरेका छन्।

नेतृत्वदेखि निर्वाचन आयोगसम्मलाई बोधार्थ

कोइरालाले कांग्रेस केन्द्रीय कार्यसमितिलाई पठाएको उक्त पत्र सभापति गगन थापासहित प्रदेश, जिल्ला, क्षेत्रीय तथा स्थानीय तहका पार्टी संरचना, वडा, जनसम्पर्क समिति र निर्वाचन आयोगलाई समेत बोधार्थ दिएका छन्।

सर्वोच्च अदालतको निर्णयलाई केन्द्रमा राखेर आएको कोइरालाको यो पत्रले कांग्रेसभित्र महाधिवेशनको तयारी र पार्टीको आगामी राजनीतिक दिशाबारेको विवाद थप पेचिलो बन्ने संकेत गरेको छ।

प्रकाशित: २६ श्रावण २०८३ १६:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App