२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रविको आसन्न भारत भ्रमणबारे शंकर तिवारी : भारतले भावी प्रधानमन्त्रीतिर पनि नजर लगाइरहेको हुन्छ

नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आसन्न भारत भ्रमणलाई लिएर गम्भीर संशय व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता तिवारीले रास्वपा सभापति लामिछाने नेपालको सत्तारुढ दलको प्रमुख नेता हुनुका साथै नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको उल्लेख गरेका छन्। उनले गत फागुन २१ को निर्वाचन परिणामलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका दुई जना युवा नेताहरूलाई फोन गरेर बधाई दिएको स्मरण गराएका छन्।

उनले लेखेका छन्, ‘फागुन २१ को निर्वाचन परिणाम लगत्तै  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका दुई नेतालाई फोन गरेर बधाई दिएका थिए। तीमध्ये एक बालेन शाह (प्रधानमन्त्री) थिए भने दोस्रा रवि लामिछाने (सभापति) थिए।’

हालै मात्र कास्की जिल्ला अदालतको निर्णयले लामिछानेलाई राजनीतिक रूपमा प्रधानमन्त्री बन्ने बाटो खुला गरिदिएको तिवारीको तर्क छ। भारतको कूटनीतिक दृष्टिकोणबारे विश्लेषण गर्दै उनले लेखेका छन्, ‘भारतले जहिले पनि वर्तमान प्रधानमन्त्रीतिर नजर लगाउँदै गर्दा भावी प्रधानमन्त्रीतिर पनि नजर लगाइरहेको हुन्छ। त्यसरी हेर्दा रवि लामिछाने 'वेटिङ प्राइम मिनिस्टर' हुन्।’

हालै कास्की जिल्ला अदालतले रवि लामिछाने, जीबी राई र छविलाल जोशीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा खारेज गर्दै सहकारी ठगीको अभियोग मात्र कायम राख्ने आदेश दिएको थियो।

लामिछानेको यो भ्रमण भारतीय विदेश मन्त्रालयको औपचारिक निमन्त्रणामा हुन लागेको र यसका लागि भारतीय पक्षले नेपाली परराष्ट्र मन्त्रालयमार्फत आवश्यक समन्वय गरेको देखिएको तिवारीले दाबी गरे। 

यस्तो संवेदनशील र औपचारिक भ्रमणका विषयमा सरकारका प्रवक्ता सस्मित पोखरेलले ‘जानकारी छैन’ भनी दिएको अभिव्यक्ति कूटनीतिक र राजनीतिक रूपमा अपरिपक्व टिप्पणी भएको नेता तिवारीको ठहर छ।

सभापति लामिछानेले जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने तयारी गरिरहेका छन्। 

प्रकाशित: १३ जेष्ठ २०८३ ११:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App