नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्।
क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका महासचिव पोखरेलले झाँकी जुलुस र बाजागाजासहित घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन्। उनको प्रस्तावकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य सम्भु गौतम र समर्थकमा लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य छन्।
मनोनयन दर्ता पश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पोखरेलले देश र जनताकालागि आफ्नो उम्मेदवारी भएको बताए। दाङसँगै समग्र मुलुकको सम्वृद्धिमा सधैं प्रतिबद्ध रहने उनको भनाइ छ। कांग्रेसको जगजगीबीच २०५१ सालमा दाङ क्षेत्र नम्बर ३ बाट कांग्रेसका स्थापित नेता दीपक गिरीलाई पराजित गरेर संसद प्रवेश गरेका थिए।
२०५६ सालको चुनावमा कांग्रेस नेता कृष्णकिशोर घिमिरेसँग पराजित पोखरेल २०६४ को संविधानसभा चुनावमा समानुपातिक सांसद बने। २०७० मा भएको दोस्रो संविधानसभा चुनाव भने उनी कांग्रेस नेता बुद्धिराम भण्डारीसँग पराजित बने। २०७४ सालमा प्रदेश सांसदमा निर्वाचित भएका उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत बनेका थिए। २०७९ सालमा कांग्रेस-माओवादी गठबन्धनसँग पराजित महासचिव पोखरेल यसपटक जसरी पनि जित निकाल्नुपर्ने दबाबमा छन्।
उनीसँग दाङ-२ मा कांग्रेसका किरणकिशोर घिमिरे,नेकपाका निर्मल आचार्य र रास्वपाका विपिन आचार्य प्रतिष्पर्धामा छन्।
प्रकाशित: ६ माघ २०८२ १४:४४ मंगलबार





