२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई शाहीको आग्रह : सीमा विवादमा राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपालको सीमा विवाद समाधानका लागि प्रधानमन्त्रीलाई राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न आग्रह गरेका छन्।

शाहीले सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रसम्बन्धी समस्या नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष जोडिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो आग्रह गरेका हुन्। साथै यस समयमा सबै नेपाली एकजुट हुनुपर्नेमा उनको जोड छ।

उनले स्मरण गराएका छन्, '​हाम्रा पुर्खाहरूले आफ्नो रगत र पसिनाले सिञ्चित गरी जोगाएको यो देश आज विभिन्न भूमरीमा फसेको देख्दा हामी चिन्तित छौँ। अंग्रेज, मुगल र तिब्बतसँग लडेर जोगाएको देश नेपालको सिमाना हाम्रा लागि गौरवको विषय हो।'

भारत र चीनबीच नेपालको सहमतिबिना लिपुलेक–लिम्पियाधुरालाई समेटेर भएको हालको सम्झौताप्रति शाहीले गम्भीर चिन्ता व्यक्त गरे। उनका अनुसार यस्तो सम्झौताले नेपालीको राष्ट्रिय अखण्डतामाथि प्रश्न खडा गरेको छ।

शाहीले भने, 'यो संवेदनशील घडीमा सम्पूर्ण नेपालीहरू एकजुट हुनुपर्ने आवश्यकता झनै बढेको छ। राष्ट्रियताको सवालमा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य हुन सक्दैन।'

प्रधानमन्त्रीलाई उद्दृत गर्दै उनले तत्काल पहल गरी राजनीतिक दलहरू, नागरिक समाज, विभिन्न संघ–संस्था र आम नेपालीलाई एकताबद्ध बनाउन अनुरोध गरेका छन्।

उनले अन्त्यमा जोड दिए, 'राष्ट्रिय एकता र सहकार्यबाट मात्र हामीले हाम्रो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न सक्छौँ। यसका सम्पूर्ण नेपाली एक भएर अगाडि बढ्नका लागि तयार छौँ।'

शाहीको यो भनाइले सीमा सुरक्षा र राष्ट्रियताको मुद्दामा साझा सहमति निर्माण गर्ने आवश्यकता झन् प्रस्ट पारेको छ।

शाहीको स्टाटस यस्तो छ:

सम्माननीय प्रधानमन्त्रीज्यू,

​नेपालको वर्तमान अवस्था र विशेषगरी लिपुलेक, लिम्पियाधुरा, र कालापानीका सम्बन्धमा देखिएका चुनौतीहरूप्रति तपाईंको ध्यानाकर्षण गराउन चाहन्छु।

​हाम्रा पुर्खाहरूले आफ्नो रगत र पसिनाले सिञ्चित गरी जोगाएको यो देश आज विभिन्न भूमरीमा फसेको देख्दा हामी चिन्तित छौँ। अंग्रेज, मुगल र तिब्बतसँग लडेर जोगाएको देश नेपालको सिमाना हाम्रा लागि गौरवको विषय हो। तर, नेपालको सहमतिबिना नै लिपुलेक र लिम्पियाधुरालाई समेटेर चीन र भारतबीच भएको सम्झौताले हामी नेपालीको राष्ट्रिय अखण्डतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

​यो संवेदनशील घडीमा सम्पूर्ण नेपालीहरू एकजुट हुनुपर्ने आवश्यकता झनै बढेको छ। राष्ट्रियताको सवालमा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य हुन सक्दैन। यसर्थ, तपाईंले सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाजका अगुवाहरू, विभिन्न संघसंस्थाहरू र आम नेपालीहरूलाई एकताबद्ध गरी राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्नका लागि तत्काल पहलकदमी लिनुहुन हार्दिक अनुरोध गर्दछु।

​राष्ट्रिय एकता र सहकार्यबाट मात्र हामीले हाम्रो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न सक्छौँ। यसका सम्पूर्ण नेपाली एक भएर अगाडि बढ्नका लागि तयार छौँ।

प्रकाशित: ५ भाद्र २०८२ १३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App