२४ मंसिर २०८२ बुधबार
image/svg+xml
राजनीति

मोहनविक्रम सिंह र मोहन वैद्यलाई राष्ट्रपति बनाउन सुझाव दिँदै दाहाललाई शाहीले भने- पूर्वराष्ट्रपतिको माया नगर्नुस्

नेकपा (एमाले) का सांसद दयाल बहादुर शाहीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई पूर्वराष्ट्रपतिको माया नगर्न सुझाव दिएका छन्। सोमबार (आज) बसेको संसद् बैठकमा बोल्ने क्रममा उनले दाहाललाई यस्तो सुझाव दिएका हुन्।

आफ्ना राजनीतिक गुरुहरू मोहनविक्रम सिंह र मोहन वैद्यलाई खोजेर ल्याएर राष्ट्रपति बनाउन भन्दै शाहीले भने, 'प्रचण्डले आफ्ना गुरुहरू मोहनविक्रम सिंह र मोहन वैद्यलाई खोजेर ल्याएर राष्ट्रपति बनाउनुस् न। किन हामीले बनाएका राष्ट्रपतिको अपमान गर्नुहुन्छ ?'

उनले माओवादी धमिलोमा दाउ हेर्ने पार्टी भएको आरोप पनि लगाए। माओवादीलाई अर्काको पार्टी भत्काउन मज्जा लाग्ने गरेको पनि बताए। यसअघि झलनाथ खनाललाई एमाले अध्यक्ष बनाउन माओवादीले कान्तिपुर पत्रिका नै किनेको उनले आरोपित गरे। 'अहिले आएर माओवादीलाई पूर्वराष्ट्रपतिको माया लागेको छ,' उनले भने।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै शाहीले दाहाललाई मोहनविक्रम सिंह र मोहन वैद्य कहाँ जानुभयो भनेर प्रश्नसमेत गरे। उनले ओलीले आफ्ना राजनीतिक गुरुहरू मनमोहन अधिकारी, मदन भण्डारीहरूलाई बाउबराबरको सम्मान गरेर आफू लोकप्रिय प्रधानमन्त्री बन्ने बाटो बनाएको पनि बताए।

यसअघि दाहालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किनका लागि कोही-कसैले नछेक्ने बताएका थिए। दुई कार्यकाल उपराष्ट्रपति बनिसकेका नन्दबहादुर पुनलाई पुन: पार्टी उपाध्यक्ष बनाइसकेको माओवादीले भण्डारी सक्रिय राजनीतिमा फर्किने कुरालाई सामान्य रूपमा लिनुपर्ने बताइरहेको छ। तर, एमालेको मुख्यत: अध्यक्ष ओली समूहका नेताहरूले भने त्यसलाई सामान्य मान्न तयार छैनन्। यहीसँग सम्बन्धित भएर शाहीले दाहाल र माओवादीका प्रति यस्तो टिप्पणी गरेका हुन्।

प्रकाशित: १९ श्रावण २०८२ १६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App