२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

शाहीले भने- ‘५ दिनमा भ्रष्टाचार सिध्याउँछु’ भन्ने सुशीला कार्की अहिले ‘हजुर सकिँदैन’ भन्दै हुनुहुन्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री सुशीला कार्कीको विगतको बोली र व्यवहारमा आकाश–पातालको फरक देखिएको बताएका छन्।

नागार्जुन र चन्द्रागिरी नगरपालिकाको संयुक्त तयारी भेलालाई सम्बोधन गर्दै शाहीले ‘नागरिक न्युजमा’ मा सार्वजनिक भएको प्रधानमन्त्रीको अन्तर्वार्ताको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीको लाचारीपन उदांगो भएको टिप्पणी गरेका हुन्।

शाहीले प्रधानमन्त्री कार्कीले पदमा पुग्नुअघि ५ दिनमै भ्रष्टाचार अन्त्य गर्ने दाबी गरेको तर अहिले आएर निरीह बनेको आरोप लगाए।

उनले भने, ‘सुशीला कार्कीले ५ दिनमा भ्रष्टाचार त खरानी पार्छु भन्नुभएको थियो। तर अस्ति भर्खर नागरिक पत्रिकामा एउटा भिडियो आयो, जसमा उहाँ भन्दै हुनुहुन्छ- ‘हजुर सकिँदैन, अदालत छ, अड्डा छ।’

शाहीले प्रधानमन्त्रीको कुर्सीमा पुगेपछि ‘हजुर सकिँदैन’ भन्नु अहिलेको व्यवस्थाको दोष भएको जिकिर गरे। उनले प्रश्न गरे, ‘भ्रष्टाचारीलाई कारबाही गर्न सरकार बनाएको हो कि सांसदको चुनाव गराउन मात्र ?’

उक्त भिडियोले प्रधानमन्त्रीको नियत भन्दा पनि बाध्यात्मक अवस्था देखाएको शाहीको तर्क थियो।

उनले संविधानको धारा २८४ र १५३ ले संवैधानिक निकाय र न्यायालयमा भागबन्डाको राजनीति संस्थागत गरेको भन्दै यस्तो व्यवस्था रहुन्जेल जस्तोसुकै व्यक्ति प्रधानमन्त्री भए पनि केही गर्न नसक्ने ठोकुवा गरे।

‘संवैधानिक परिषद र न्याय परिषदमा भागबन्डा गरेर आफ्ना कार्यकर्ता भर्ती गरेपछि प्रधानमन्त्रीले चाहेर पनि केही गर्न सक्दैनन्,’ शाहीले भने, ‘त्यसैले सुशीला कार्कीले ‘सकिँदैन’ भन्नु स्वाभाविक हो। अब फागुन २१ को चुनाव होइन, संविधान संशोधन गरेर यी धाराहरू खारेज गर्नुपर्छ।’

उनले देशको नेतृत्व र व्यवस्था दुवै परिवर्तन नभएसम्म नागरिकले जति कर तिरे पनि र जतिसुकै इमानदार व्यक्ति सरकारमा गए पनि परिणाम नआउने बताए।

प्रकाशित: २० मंसिर २०८२ २०:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App